

सुर्खेत । रुकुम पश्चिममा १२ हजार बढी रैथाने जडिबुटी, फलफूल तथा सौन्दर्यमुलक विरुवा रोपिएको छ ।
सगरमाथा वृक्षारोपण महाअभियानसँगै अन्य दिवसहरुको अवसर पारेर ५४ दिनमा विभिन्न प्रजातिका १२ हजार ३ सय ३६ वटा विरुवा रोपिएको हो । डिभिजन वन कार्यालय रुकुम पश्चिमको आव्हानमा सामुदायिक वन, नदी उकास क्षेत्र, निजी जग्गा, सामुदायिक विद्यालय, सरकारी कार्यालय, मन्दिर तथा पार्कका ४३ स्थानमा संरक्षणको सुनिश्चितता सहित विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।
रुकुम पश्चिमका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले जिल्लाका सबै पालिकामा संरक्षणको सुनिश्चितता सहित काष्ठ, जडीबुटी, धार्मिक र सौन्दर्यमूलक विभिन्न प्रजातिका विरुवाहरु रोपिएको बताए । उनले हरियाली प्रवर्धन गरी वनक्षेत्रको विस्तार, जैविक विविधतासँगै उपभोगमैत्री वन संरक्षणको नीतिलाई पूरा गर्न वृक्षारोपण अभियानहरुले सघाउने गरेको जनाए ।

‘कार्बन उत्सर्जन न्यूनीकरण, हिमाल, पहाड संरक्षणसँगै जलवायु परिवर्तनको असर कम गर्न वृक्षारोपण अभियानले सहयोग पुग्छ,’ उनले भने, ‘वृक्षारोपण मात्र होइन, उपभोगसँगै आम्दानीको दिगो स्रोतका रुपमा प्रयोग गर्न सक्ने गरी नागरिकमैत्री संरक्षणमा समेत जोड दिएका छौं ।’

उनले स्थानीय युवा क्लब, विद्यालय तथा सामुदायिक वन उपभोक्ता समूहहरुको सहयोगमा वातावरण अनुकूल फलफूल, जडीबुटी तथा उच्च मूल्यका बहुउपयोगी वनस्पतिहरु रोपिएको जानकारी दिए । उनका अनुसार सरकारको २० वर्षे दीर्घकालीन राष्ट्रिय कार्यक्रम अन्तर्गत वातावरण संरक्षणसँगै हरियाली प्रवद्र्धन गर्नु वृक्षारोपण अभियानको मुख्य उद्देश्य हो ।

‘जीवनोपयोगी फलफूल, जडिबुटी, सौन्दर्यमूलक बिरुवा रोपेर उपभोक्ताको आयआर्जनमा सुधार गर्दै वन्यजन्तु तथा कार्बन उत्सर्जनमा टेवा पु¥याउनु नै हाम्रो लक्ष्य हो,’ उनले भने, ‘बिरुवा रोपन कार्य सफल बनाउन जिल्लास्थित सरकारी तथा सुरक्षा निकायको सहजीकरणसँगै जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्थानीय जनप्रतिनिधिहरुको समेत योगदान छ ।’
उनले वृक्षारोपण अभियानबाट जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवद्र्धनसँगै स्थानीयलाई रोजगारी सिर्जना गरी भावीपुस्ताका लागि हरित समृद्धी निर्माणमा सहयोग पुग्ने बताए । उनका अनुसार अहिले रोपिएका बिरुवाको उचित संरक्षणबाट अबको दुई वर्ष पछि स्थानीय उपभोक्ताले आम्दानी लिन सक्ने छन् ।












