भारतको तमिलनाडुमा थलापति विजयको सरकारको लागि बहुमत जुट्यो

नयाँ दिल्ली । तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ ।

विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके) ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय (विजय थलापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको हो ।

टिभिके प्रमुख विजयले १ सय १६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समीकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए ।  उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि विजयलाई औपचारिक आह्वान गरेका थिएनन् ।

शनिबार विसिकेले आधिकारिक रुपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ । कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन् । यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको १ सय १८ सदस्यको जादुई आँकडा पार गरेको छ ।

वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसकेको बताइएको छ । तमिलनाडुमा २ सय ३४ सदस्यीय विधानसभामा बहुमतका लागि १ सय १८ सिट आवश्यक छ भने टिभिकेले १०८ सिट पाएको छ । कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टी (सिपिआई) का दुई, भारतीय कम्युनिष्ट पार्टी–मार्क्सवादी (सिपिएम) का दुई र भिसिकेका दुई विधायकको समर्थनमा टिभिके गठबन्धनको सङ्ख्या १ सय २१ पुगेको हो ।

तर, विजय दुई सिटबाट विधायक भएकाले उनको एक सिटको मतदानमा कुनै अर्थ नरहने हुँदा उनको सत्ता समीकरणमा १ सय २० सदस्यको समर्थन रहनेछ । अब भने विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठनको बाटो खुलेको छ । रासस

Translate »