

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।
प्रदेश सरकार सञ्चालनको सत्ता साझेदार दल नेपाली काँग्रेसबाट सहभागी मन्त्रीहरुले दिएको सामुहिक राजीनामा स्वीकृत गरेसँगै मुख्यमन्त्री कँडेलले मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् । सरकारमा सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष पदबाट राजीनामा बुझाएका थिए ।
उनीहरुको राजीनामा मुख्यमन्त्री कँडेलले स्वीकृत गर्दै मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् । रिक्त मन्त्रालय मुख्यमन्त्री कँडेलले आफूमातहत राखेका छन् । यता प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री कँडेलको सचिवालयको सिफारिस पत्रानुसार मिति २०८०/१२/२७ गते गठित मौजुदा कर्णाली प्रदेश मन्त्रिपरिषद् नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको जनाएको छ ।

मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलश्रोत तथा उर्जा विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफु मातहत राखेका छन् ।
त्यस्तै विनोदकुमार शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र गमता विक राज्यमन्त्री भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी यथावत राखिएको प्रदेश प्रमुखको कार्यालयका सचिव तथा प्रवक्ता भीमराज थानीले जानकारी दिए ।













