२०८३ असार २६ , शुक्रबार
Sky News Nepal
२०८३ असार २६ , शुक्रबार

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माविलाई दुई लाख बराबरको फिल्टर र ट्याङ्की सहयोग



सुर्खेत । कामना सेवा विकास बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई दुई लाख बराबरको फिल्टर र ट्याङ्की सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार वीरेन्द्रनगर नगरपालिका–१, का वडाध्यक्ष दिनेश खत्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारको रोहवरमा विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर खत्रीलाई उक्त पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको हो ।

सहयोग कार्यक्रममा वीनपा–१, का वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरे । त्यस्तै विव्यस अध्यक्ष सुनारले बैंकद्वारा सहयोग प्रदान गरिएका आधुनिक खानेपानी प्रणालीका सामग्रीबाट विद्यार्थीसँगै कार्यरत शिक्षकले स्वच्छ, सुरक्षित र गुणस्तरीय पानी उपभोग गर्न पाउने जनाए ।

‘विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान भएपनि पानी शुद्धीकरण गर्ने व्यवस्था नह्ँदा विद्यार्थीसँगै शिक्षकलाई सकस थियो,’ उनले भने, ‘अब भने शुद्ध र सुरक्षित खानेपानीको सुविधा पहुँचले स्वस्थ शैक्षिक वातावरण निर्माणमा समेत सहयोग पुग्नेछ ।’ उनले आगामी दिन समेत विद्यालयलाई यसैगरी सहयोग गर्न बैंकसँग आग्रह गरे ।

कार्यक्रममा बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले समुउन्नत समाज निर्माणका कर्णधार विद्यार्थी तथा गुरुवर्गलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न पाएकोमा बैंकसँगै आफुलाई पनि अत्यन्तै हर्षित बनाएको जनाए । उनले आगामी दिन समेत बैंकले स्थानीय सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता पवित्र तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

बैंक तथा विद्यालयलाई जोड्ने समन्वयात्मक भूमिका नेपाल प्रधानाध्यापक संघ सुर्खेतका अध्यक्ष दुर्गा शाक्यले गरेकी थिईन् । बैंकको उक्त सहयोगबाट विद्यालयमा अध्ययनरत १ हजार ३ सय बढी विद्यार्थीसँगै शिक्षकहरु शुद्ध पिउने पानीबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।

सहयोग कार्यक्रममा बैंकका उपप्रमुख अर्जुन खनाल, सुर्खेत प्रमुख सुनिल आचार्य, हिक्मत विसी, सहायक प्रधानाध्यापक लोकेन्द्र चन्द, शिक्षकहरु गङ्गाराम जिसी, जगत विष्टसँगै विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार
Translate »