२०८३ असार २६ , शुक्रबार
Sky News Nepal
२०८३ असार २६ , शुक्रबार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन, नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने एमालेको माग



काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको आज वीर अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो । काठमाडौं को त्रिपुरेश्वरमा बिहीबार आफैंले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’ मा राखेर उपचार गरिरहेको अवस्थामा केही बेरअघि निधन भएको वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुष्टि गरे ।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो । नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने सुझाव दिएका थिए ।

यसैबिच नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् ।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार
Translate »