२०८३ असार २९ , सोमबार
Sky News Nepal
२०८३ असार २९ , सोमबार

सुर्खेतमा युवालक्षित वृत्ति मार्ग निर्देशन सेवा सुरु



सुर्खेत । विद्यार्थीलाई उनीहरुको रुचि तथा खुबीका आधारमा भविष्यमा अध्ययन गर्ने विषय तथा रोजगारीका सम्भावनाका बारेमा जानकारी दिने उद्देश्यले ‘वृत्ति मार्गनिर्देशन सेवा’ को सुरुवात गरिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र रोशनीकुमारी श्रेष्ठले एक कार्यक्रमका वीच सोमबार वीरेन्द्रनगरमा वृत्ति मार्गनिर्देशक सेवाको शुभारम्भ गरेका छन् । प्रदेशभित्रका सबै प्राविधिक शिक्षालय तथा सामुदायिक विद्यालयका ८ देखि १० कक्षाका विद्यार्थीलाई व्यक्तिगत एवं सामूहिकरुपमा (करियर गाइडेन्स) वृत्ति मार्गनिर्देशन केन्द्रबाट गरिने छ ।

केन्द्रले यूवासँगै ८ देखि १० कक्षाका विद्यार्थीलाई वृत्ति छनौटमा सही निर्णय लिन, उचित वृत्तिमार्ग अपनाउन र सामूहिक वृत्ति परामर्श सत्र, व्यक्तिगत वृत्ति परामर्श, अभिभावकीय सत्र तथा अनलाइन स्रोतहरुको माध्यमबाट श्रम बजारसँग जोड्न सहयोग गर्ने अपेक्षा राखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखाका अधिकृत रेशमबहादुर खत्रीका अनुसार प्रशिक्षित वृत्ति परामर्श सहजकर्ताद्वारा माध्यमिक विद्यालयका शिक्षकहरुलाई विशेष कक्षा प्रदान गरी ८, ९ र १० कक्षाका विद्यार्थीलाई वृत्ति मार्गदर्शन सेवा प्रदान गरिने छ ।

उनले डिजिटल माध्यमबाट रुची र खुबीको परीक्षण गरी यूवाहरुको क्षमतालाई श्रम बजारको मागसँग मेल गराउन सहयोग गरिने जनाए । उनका अनुसार भविष्यमा स्थानीय तहसँगको सहकार्यमा विद्यालयमा वृत्ति ल्याव स्थापना गरी सेवाको विस्तार गर्नुका साथै प्रदेशका प्रमुख शहरहरुमा उपकेन्द्रहरु स्थापना गरिनेछ ।

सामाजिक विकास मन्त्रालय शैक्षिक विकास तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले इन्स्योर परियोजना अन्तर्गत विद्यार्थी तथा यूवाहरुलाहरुको रुची, खुवी र क्षमताको आधारमा करियर छनोट गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१ देखि कर्णालीमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन कार्यविधि पारित गरि सेवा केन्द्र सञ्चालन भईरहेको जानकारी दिए ।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशका ४५ बढी पालिकाका माध्यमिक विद्यालयका शिक्षकहरुलाई वृत्ति मार्गनिर्देशन कार्यक्रम सञ्चालन गरी क्षमता अभिवृद्धि गरिसकिएको जनाए । उनले वृत्ति मार्ग निर्देशन सेवा सञ्चालनका लागि कानूनी आधार मन्त्रिपरिषद्बाट पारित गरि सोहि अनुसार सेवा केन्द्रलाई सञ्चालन गरी दिगोरुपमा अगाडि बढाउन मानव संसाधन विकास केन्द्र स्थापना गरिएको बताए ।

उनले भने, ‘स्थानीय सरकारसँग मिलेर यो कार्यक्रमलाई अगाडि बढाउन मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया पुरा पुरी गरि बढिरहेको छ ।’ सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले सेवा केन्द्र स्थापनाको लागि आवश्यक स्रोत व्यवस्थापन तथा परिचालन गर्ने काम सामाजिक विकास मन्त्रालयले गरिरहेको बताईन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले वृत्ति मार्गनिर्देशन कार्यक्रमलाई अहिले धेरैजसो परियोजनाले ‘क्रस कटिङ्ग’ को रुपमा जोडेकाले समयको माग अनुसार मनोसामाजिक परामर्शसँग समेत जोड्न आवश्यक रहेको औल्याए । सामाजिक विकास मन्त्रालयले वृत्ति मार्गनिर्देशन काक्र्रमलाई अपनत्व लिई अगाडि बढाईरहेको बताउँदै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले कार्यक्रमको दिगोपनामा जोड दिए ।

उनले सीपयुक्त जनशक्ति उत्पादनका लागि स्थानीय तहसँगै सामाजिक विकास मन्त्रालयले सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । वृत्ति मार्गनिर्देशन सेवा केन्द्र नेपाल र स्विजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौता बमोजिमको ‘दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना’ को सहयोगमा स्थापित गरिएको यो कार्यक्रमलाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ ।

विद्यार्थी तथा युवाको रुचि, खुबी अनुसार उनीहरुले अध्ययन गर्न सक्ने विषय, भविष्यमा गर्न सकिने काम तथा रोजगारीको खोजीमा रहेका युवालाई कुन उद्योगमा कस्तो रोजगारीको सम्भावना, अवसर तथा चुनौतीका बारेमा जानकारी दिन वृत्ति मार्गनिर्देशक सेवाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम अन्तर्गत प्रदेशभित्रका सबै प्राविधिक शिक्षालय तथा सामुदायिक विद्यालयका कक्षा ८, १० र १२ का विद्यार्थीसहित युवालाई व्यक्तिगत र सामूहिक रुपमा (करियर गाइडेन्स) वृत्ति मार्गनिर्देशन गरिनेछ । वृत्ति मार्गनिर्देशन सेवाबाट पेसाका बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न, पेसा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्ने छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरी उनीहरुको रुचि, खुबी र श्रम बजारको मागका आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिने छ । मार्गनिर्देशन सेवा केन्द्रले शिक्षा र रोजगारीबिचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाले निर्णय लिन र उनीहरुको व्यक्तिगत र व्यावसायिक लक्ष्यसँग मिल्ने अवसर प्रयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपाल र स्विट्जरल्यान्ड सरकारबिचको द्विपक्षीय सम्झौताबमोजिम सञ्चालन भएको दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) र सामाजिक विकास मन्त्रालयको संयुक्त प्रयासमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गरिएको हो । वृत्ति मार्गनिर्देशन सेवा कार्यक्रम वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिकामा सञ्चालन भईरहेको छ ।

विद्यार्थी तथा युवाको रुचि, खुबी अनुसार उनीहरुले अध्ययन गर्न सक्ने विषय, भविष्यमा गर्न सकिने काम तथा रोजगारीको खोजीमा रहेका युवालाई कुन उद्योगमा कस्तो रोजगारीको सम्भावना, अवसर तथा चुनौतीका बारेमा जानकारी दिन वृत्ति मार्गनिर्देशक सेवाले सहयोग गर्ने जानकारी दिईनेछ ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार
Translate »