

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलगायत चाडपर्वलाई लक्षित गरी ५० क्विन्टल चिनी ल्याउने तयारी गरेको छ ।
जिल्लामा चिनीको माग अत्यधिक रहेको अवस्थालाई मध्यनजरगरी खाद्य कम्पनीको केन्द्रिय कार्यालयबाट ५० क्विन्टल चिनी जुम्लामा पठाउने निर्णय गरिसकेको छ ।
उक्त चिनी तीन दिनभित्र सदरमुकाम खलङ्गाको डिपोमा ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिए ।
उक्त कार्यालयले उपभोक्तालाई पाँच किलोसम्म प्रतिकिलो रु ११० दरले सहुलियत मूल्यमा चिनी बिक्री गर्नेछ ।
दसैँ, तिहार र छठजस्ता चाडपर्वका समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा किन्नुपरेको गुनासो आइरहेकैबेला हिमाली जिल्ला जुम्लामा भने अभाव हुन नदिन तथा सहुलियत दरमा बिक्री गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेड तत्काल चिनी ढुवानीको व्यवस्था गरेको हो ।

यसैबीच, आमउपभोक्तालाई आवश्यकताभन्दा धेरै चिनी नकिन्न र धेरै मूल्य पनि नतिर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आग्रह गरेको छ ।
दुई हजार एकसय क्विन्टल चामल मौज्दात
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा दुई हजार १०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आवका लागि सरकारले जुम्ला जिल्लामा छ हजार क्विन्टल खाद्यान्नको कोटा निर्धारण गरेको छ ।
त्यसमध्ये हालसम्म तीन हजार ८०० क्विन्टल चामल जिल्लामा आइसकेको छ । चालु आवको असोजको दोस्रो सातासम्म करिब दुई हजार ७०० क्विन्टल चामल बिक्री पनि भइसकेको छ ।
दसैँ नजिकिँदै गर्दा प्रतिदिन करिब ९० क्विन्टल चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीले जानकारी दिए ।
दसैँअघि नै स्थानीय पातारासी गाउँपालिकाको लुम र गुठीचौर गाउँपालिकाको गुठीचौर डिपोबाट एक हजार क्विन्टल चामल बिक्री गरिनेछ ।
तिला गाउँपालिको जुम्लाकोट, सिञ्जाको धापा, हिमामो बाजाँगाडा बिक्री केन्द्रबाट ५०० क्विन्टल चामल बिक्रीवितरण गरिने शाखा कार्यालयले जनाएको छ ।











