२०८३ कात्तिक ११ , मंगलबार
Sky News Nepal
October 27, 2026

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ




एजेन्सी/काठमाडौं । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ

। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको सङ्केत हो । जाडो मौसम धेरैजसोलाई मन पर्ने भए पनि यो समयमा मानिसहरू बढी बिरामी पर्छन् ।

यसको प्रत्यक्ष कारण चिसो वा सिरेटो मात्र नभई यो मौसमले तयार पार्ने वातावरण हो, जसमा भाइरस र ब्याक्टेरिया तीव्र गतिमा फैलिन्छन् ।

यस्तो अवस्थामा यदि इम्युनिटी कमजोर छ भने जाडोमा रुघाखोकीले बढी सताउन सक्छ । सन्तुलित खानपान नहुने व्यक्तिहरूमा यो समस्या धेरै देखिन्छ । जाडोका कारण निम्तिने यस्ता स्वास्थ्य समस्याविरुद्ध लड्न शरीरलाई सक्षम बनाउने केही घरेलु पेय पदार्थहरू यहाँ प्रस्तुत गरिएको छ :

अदुवाको चिया

जाडो मौसममा अदुवाको चिया निकै लोकप्रिय पेय हो । यसको तातोपन र सुगन्धले चिसो दिनहरूमा आरामदायी महसुस गराउँछ । अदुवामा ‘जिन्जरल’ नामक तत्व पाइन्छ, जसले शरीरमा हुने इन्फ्लेमेसन कम गर्न मद्दत गर्छ । यो बनाउन एक कप पानीमा अदुवाका केही टुक्रा हालेर करिब ५ मिनेट उमाल्नुपर्छ। त्यसपछि छानेर कागतीको रस वा थोरै मह मिलाई तात्तातो स्वाद लिन सकिन्छ ।

बेसार र दुध

घरपरिवारमा बेसार र दुध लामो समयदेखि प्रयोग गरिँदै आएको परम्परागत पेय हो । बेसारमा ‘कर्क्युमिन’ नामक तत्व हुन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । दुधबाट प्रोटिन, क्याल्सियम र भिटामिन बी१२ जस्ता पोषक तत्वहरू प्राप्त हुन्छन् ।

यसले शरीरलाई न्यानो राख्नुका साथै सङ्क्रमण रोकथाममा सहयोग पुर्‍याउँछ । यो बनाउन एक कप दुध तताएर त्यसमा एक चौथाइ चम्चा बेसार मिसाउनुपर्छ । यसलाई केही मिनेट मन्द आगोमा पकाएपछि स्वादका लागि एक चिम्टी दालचिनी वा मरिचको धुलो हाल्न सकिन्छ । मनतातो छँदै यसको सेवन गर्नु उपयुक्त हुन्छ ।

अमलाको जुस

अमला भिटामिन ‘सी’ को उत्कृष्ट स्रोत हो । यसले रोगप्रतिरोधात्मक प्रणालीको कार्यसम्पादनमा मद्दत पुर्‍याउनुका साथै शरीरमा आइरन सोस्ने प्रक्रियालाई समेत प्रभावकारी बनाउँछ ।

यो बनाउन एक वा दुईवटा अमला धोएर टुक्रा पारी भित्रको दाना निकाल्नुपर्छ । त्यसपछि पानीसँग मिसाएर ब्लेन्ड गर्ने र चाहेमा छानेर थप पानी मिसाउन सकिन्छ। स्वादमा मिठास ल्याउन हल्का मह मिलाएर यसको सेवन गर्न सकिन्छ ।

कागती र मह-पानी

बिहान मनतातो कागती पानी पिउनु शरीरलाई ‘हाइड्रेट’ राख्ने सरल उपाय हो । कागतीबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ भने महले पेयमा मिठास थप्छ । एक वर्षभन्दा माथिका मानिसहरूमा महले खोकीबाट केही राहत पाउन मद्दत गर्छ । यो बनाउन एक गिलास मनतातो पानीमा कागतीको रस र आवश्यकताअनुसार एक चम्चा मह घोलेर सेवन गर्नुपर्छ ।

दालचिनीको हर्बल चिया

दालचिनीको चिया आफ्नो मीठो सुगन्ध र हल्का गुलियो स्वादका लागि रुचाइन्छ । यसमा पाइने वनस्पतिजन्य तत्वहरूमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यो बनाउन एक कप पानीमा दालचिनीको सानो टुक्रा हालेर ५ देखि १० मिनेट उमाल्नुपर्छ । त्यसपछि छानेर पिउन सकिन्छ । स्वाद बढाउन कागती वा अदुवा पनि थप्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार
Translate »