२०८३ कात्तिक ११ , मंगलबार
Sky News Nepal
October 27, 2026

सुर्खेतको चौकुने गाउँपालिका–७ नम्वर वडा कार्यालयको भवन ७ वर्षदेखि अधुरै



गुटु । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ (धामीडाँडा/गुटु) को वडा कार्यालय भवन निर्माण सुरु भएको ७ वर्षभन्दा बढी समय भइसक्दा पनि अझै अलपत्र र अधुरै अवस्थामा रहेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरु चुनिएर आएको पहिलो कार्यकालदेखि नै निर्माण थालिएको यो भवन प्राविधिक ढिलासुस्ती, बजेट व्यवस्थापनमा बेवास्ता र निर्माण व्यवसायीको लापरवाहीका कारण हालसम्म सम्पन्न हुन नसकेको हो । चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा दुई वर्षभित्रै अढाई तले उक्त वडा भवन कार्यालय निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

अहिले करिब दुई तलाको काम सकिएपनि माथिल्लो छत तलाको काम अलपत्र हुँदा बनाइएको पूर्वाधारसमेत भत्कने अवस्थामा पुगेको हो । ठेकेदार कम्पनीले योजनालाई अधुरो अवस्थामा छाडेपछि अहिलेसम्म उक्त भवन उपयोगमा आउन सकेको छैन । भवन निर्माण योजना अलपत्र परेका कारण स्वास्थ्य चौकीको साँघुरो कोठाबाट सेवा लिन नागरिकलाई असहज भईरहेको छ ।

वडा कार्यालयको आफ्नै सुविधासम्पन्न भवन ७ वर्षदेखि अलपत्र र अधुरै राखेर साँघुरा कोठाहरुबाट प्रशासनिक सेवा दिनु नै जनप्रतिनिधिको लज्जास्पद कार्य भएको सेवाग्राही बताउँछन् । हाल वडा कार्यालय सञ्चालन भएको एकतले पुरानो घरमा स्वास्थ्य चौकी समेत सञ्चालनमा छ ।

‘स्वास्थ्य चौकीको साँघुरो भवनबाट भईरहेको सेवा प्रवाह प्रति नागरिकमा आक्रोश बढ्दैछ,’ स्थानीय जीवन देवकोटाले भने, ‘दुई वर्षमा बनिसक्नुपर्ने भवन ७ वर्षदेखि अलपत्र र अधुरो राखेर साँघुरो भवनबाट सेवा प्रवाह गर्नु लाज मान्नु पर्ने विषय हो । किनभने ! पाजी, एउटा अढाई तले भवन बनाउन नसक्ने जनप्रतिनिधिले अरु के नै काम गर्न सक्छ ।’

उनले वडा कार्यालयको भवन ७ वर्षसम्म अधुरै र अलपत्र रहनुले स्थानीय सुशासनको कमजोरी र नागरिकप्रतिको गैरजिम्मेवारीलाई प्रस्ट पारेको बताए । विकास बजेटको दुरुपयोग, ठेकेदारको लापरवाही, वा स्थानीय तहको फितलो अनुगमनका कारण यस्तो समस्या देखिएको उनको भनाइ छ ।

गाउँपालिका र वडाको बजेट विनियोजनमा तादाम्यता नमिल्नुका साथै निर्माण क्षेत्रको प्रभावकारी अनुगमन नहुँदा ठेकेदारले काम बीचमै छाडेर अलपत्र पारेको हो । निर्माण ठेकेदारको लापरबाही र ढिलासुस्तीले चौकुने गाउँपालिकाको ७ नम्वर सहित ९, ५ र १ नम्वरको वडा कार्यालय भवन समेत अधुरै र अलपत्र अवस्थामा छन् ।

२०७७ सालमा वडा नं. ७, को अढाई तले भवनका लागि एक करोड ४९ लाखको ठेक्कालाई निर्माण व्यवसायीले घटेर ८९ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । आफ्नो कार्यकालमा वडा कार्यालय भवनको जिम्मा लिएको ठेकेदारले सन्तोषजनक काम गरेपनि पछि अधुरै छोडेको ७ नम्वर वडाका पूर्व वडाध्यक्ष अमरबहादुर बुढाक्षेत्री बताउँछन् ।

‘पहिलो चरणमा ठेकेदारले भवन निर्माणका कामलाई तीव्रता दिएपनि पछि के कारणले काम गर्न सकेन त्यो मलाई थाहा छैन,’ उनले भने, ‘सुन्नमा आए अनुसार बजेट अभावसँगै गुणस्तरहिन काम हुँदा समस्या आयो भन्ने छ । तर, यस बारेमा अहिलेका जनप्रतिनिधि र गाउँपालिकाले विस्तृत जानकारी दिन सक्छ ।’

उनले हिजोका दिनमा जुनसुकै पक्षबाट जे जस्तो कमिकमजोरी रहेपनि अब भने वडा कार्यालय भवन निर्माणमा ढिलाई नगर्न आग्रह गरे । कैलालीको अमन एण्ड निसा कन्सटेक्सन प्रालिले चौकुने गाउँपालिकाका ४ वटा वडा कार्यलय भवन निर्माणको ठेक्का सम्झौता गरेपनि समयमै काम सम्पन्न नगरी अलपत्र छाड्ेपछि समस्या भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण सुरु भएको वडा कार्यालय भवन निर्माण ठेकेदारलाई वारम्वार ताकेदा गर्दा समेत अटेरी गरेको ७ नम्वर वडाध्यक्ष धनिराम धमलाले बताए । उनले ३५ प्रतिशत घटेर लिएको ठेक्कालाई ठेकेदार सवठेकेदार दिएर गुणस्तरहिन काम गरेपछि फाउण्डेशन नै भत्काएर अर्कोपटक बनाउनु परेको कारणले पनि निर्माणमा ढिलाई हुन पुगेको जनाए ।

‘काम छोडेर भोगेको ठेकेदारलाई पुनः आफ्नै पहलकदमीमा बोलाएर काम गर्न लगाएपनि स्थानीय सव–ठेकेदारलाई काम गरेको पैसा नदिएपछि पुनः काम रोकियो हो,’ उनले भने, ‘अरुले भनेको जस्तो जनप्रतिनिधिले वडा भवन बनाउनतर्फ ध्यान नदिएको भन्ने होइन, तर, प्राविधिकरुपमा पालिकाले पनि निर्माण ठेकेदार काम गरेवापत पैसा नदिएपछि थप समस्या भएको हो ।’

उनले हालसम्म भवन निर्माणको काम गरेकोजतिको पैसा पालिकाबाट नपाएकाले अहिले ठेकेदार अदालत पुगेको जानकारी । उनका अनुसार अदालतमा यहीं कार्तिक ११ गते मुद्धाको पेशी हुने बुझिन आएको छ । हालसम्म ७० प्रतिशत काम सकिएको वडा भवन बारे अब अदालतमा विचारधिन मुद्धाको फैसलापछि मात्र कुनै टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

वडा भवन निर्माणकै सवालमा आफु र निर्माण ठेकेदार वीच धेरै पटक भनाभन भएको जानकारी दिँदै उनले अझैपनि झगडा भन्दा पनि कानूनीरुपमा अधुरो र अलपत्र भवनलाई निर्माण सम्पन्न गरी त्यहींबाट सेवा प्रवाह गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार वडा कार्यालयको आफ्नै भवन नहुँदा स्वास्थ्य चौकीको सानो भवनबाट सेवाग्राहीलाई नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता जस्ता सामान्य सेवा लिन सकस भईरहेको छ ।

यद्यपि ! दुई वर्षमा बनिसक्नु पर्ने भवन ७ वर्षदेखि अलपत्र पार्ने ठेकेदारलाई कानूनी दायरामा ल्याउन नसक्नु स्थानीय सरकारको लाचारी र चरम प्रशासनिक ढिलासुस्तीको रुपमा सर्वसाधारणले लिएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार
Translate »