बाल दिवसमा बालबालिकालाई सहयोग

भदौ २९, सुर्खेत ।
अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार वीरेन्द्रनगरको बालमन्दिरका विद्यालयका बालबालिकाहरुलाई विभिन्न शैक्षिक तथा खेलकुद सामाग्रीहरु उपलब्ध गराइएको छ । बालमन्दिर सञ्चालक संस्था जिल्ला बाल संगठनको आग्रह अनुसार सुर्खेत उद्योग वाणिज्य संघका सदस्य दीपक खड्काको समन्वयमा दिवा खाजासहित खेलकुद सामाग्री उपलब्ध गराइएको हो । यशोदा फुड्सको आधिकारिक डिलर जेडी इन्टरप्राइजेज प्रोपोराइरटर समेत रहेका खड्काले प्रालिका निर्देशक अर्जुन भण्डारी, मार्केटिंग अफिसर प्रकाश दर्नालसंगको सहकार्यमा उक्त सामाग्रीको व्यवस्थापन मिलाईएको हो ।

सहयोगदाता खड्काले बालदिवसका दिन बालबालिकाको मुहारमा खुशीको उज्यालो छर्न पाउनु नै सबैभन्दा ठूलो खुशी लागेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाए । आर्थिक तथा अन्य कुनैपनि किसिमका अभावकै कारण कोहीपनि विद्यार्थीले बीचमा पढाइ छोड्न नपरोस भन्नेमा जोड दिंदै उनले सामुदायिक विद्यालयको स्तर उकास्न निजीक्षेत्रले पनि होस्टेमा हैंसे गर्नुपर्ने आवश्यक्ता औल्याए ।

संगठनका सचिव गणेश कार्कीले बालसंगठन आफैमा टिठलाग्दो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै विभिन्न व्यक्ति, संघसंस्था गुहारेर कक्षा सञ्चालन गर्नुपरेको दुखेसो पोखे । विद्यालयमा आउन अति विपन्न परिवारका विद्यार्थीहरु कापीकलम, झोला, विद्यालय पोशाक, दिवाखाजा लगायतका शैक्षिक तथा खेलकुद सामाग्रीको अभावमा विद्यालय छाड्ने क्रम जारी रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर विसीले करिव १ सय २० भन्दा बढि विद्यार्थी भर्ना भएको बालमन्दिरमा आर्थिक तथा विभिन्न अभावकै कारण ६० देखि ७० जना विद्यार्थी मात्र नियमित आउने गरेको जानकारी दिए ।

Translate »