कालोबजारी गर्नेलाई ‘अन द स्पट’ कारवाही

चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारिँदै

नवराज जैसी /भदौं ३१, सुर्खेत ।
चाडपर्व नजिकिएको छ । बजार भाउ आकासिएको छ । दैनिक उपभोग्य सामानले उपभोक्ताको ढाड सेकिरहेको छ । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन् । चाडपर्वमा विशेष गरेर महँगी ह्वात्तै बढ्ने गरेको छ । जसको सिकार आम उपभोक्ता नै हुने गरेका छन् । प्रत्येक वर्ष चाडपर्वमा व्यापारीले चौथी हान्ने गर्छन् । सडकदेखि सदनसम्म, खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, अचारदेखि घिउसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो भेटिँदैन । प्रत्येक वर्ष उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भएपनि व्यवहारमा लागू हुन नसक्दा यो देखाउने दाँत मात्र भएको उपभोक्ताकर्मीको भनाइ छ ।


यता उपभोक्ताको गुनासो सुनुवाइका लागि जिल्ला प्रशासन कार्यालयले सोमबार प्रमुख जिल्ला अधिकारी बसन्तकुमार अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले अब नियमित शहरदेखि गाउँसम्म बजार अनुगमनलाई तीव्रता दिइने निर्णय गरेको छ । समितिको बैठकले विभिन्न क्षेत्रका  ज्ञसहितको टोली बनाएर स्थानीय तहका उपभोक्तालाई समेत अनुभूति हुने गरि बजार अनुगमन गर्न लागिएको जानकारी दिएको हो । चाडपर्वको मौका छोपेर बजार भाउ आकासिने र उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएको जनगुनासोलाई सम्बोधन गर्न सरकारी निकायहरुले बजार अनुगमनलाई तीव्रता दिन लागेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले चाडपर्व नजिकैसँगै अत्यधिक महँगी हुने र उपभोक्ता मारमा पर्ने भएकाले पनि यस समयमा विशेष जोड दिएर अनुगमनलाई तीव्रता दिन लागिएको जनाए ।

उनले उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृत्ति आदि कारणले उपभोक्ता महँगीको मारमा परेको बताए । ‘नजिकिँदै गएको चाडपर्वको समयमा उपभोक्ताले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिउन् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिन लागिएको छ,’ सहायक प्रजिअ खड्काले भने । उनले चाडपर्वको समयमा माग बढी हुने हुँदा व्यवसायीले उपभोक्तालाई नठगुन भन्ने उद्देश्यले अनुगमन चाडपर्वमा विशेष अनुगमन गर्न लागिएको बताए । उनका अनुसार यस पटक बजार क्षेत्रमा सञ्चालित सुनचाँदी, हाडवेयर, पेट्रोलपम्म, मासु र तरकारी पसल, होटल, कपडा–फेन्सी पसल, व्यवसाय तथा सवारी साधनमा समेत अनगुमन गरिने छ ।  विगतमा गरिएका अनुगमनका क्रममा कतिपयको व्यवसाय दर्ता नभएको र सरसफाइमा ध्यान नदिएको, मनपरी मूल्य लिएको, मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बेच्न राखेको पाइए यस पटक कानून अनुसार (अन द स्पट) कारवाही हुने रणनीति बनेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बताए । उनले बजारमा पानी, दुघ, तेल, मिठाई, खाजानास्ता तथा बेकरी आइटममा अनुगमन समितिको विशेष निगरानी रहने जनाए ।

Translate »