२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 8, 2026

कर्णालीका १७ लाख ७० हजार नागरिक लाभान्वित हुँदै

सामूहिक दुर्घटना वीमा कार्यक्रम शुरु


लक्ष्मी वि.क /असोज १, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आफ्ना सबै नागरिकको निशुल्क विपद् दुर्घटना वीमा गरि दिन लागेको छ । प्रदेश सरकारले बुधबार वीरेन्द्रनगरमा विपद् जोखिम विरुद्ध कर्णाली प्रदेशबासीको सामूहिक दुर्घटना वीमा कार्यक्रमको शुभारम्भ गरेको हो । वीमा कार्यक्रमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच आधिकारिक सम्झौंता भएसंगै अब प्रदेशका १७ लाख ७० हजार नागरिक उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् । वीमा कम्पनीसँग भएको सम्झौंता अनुसार प्रदेश सरकारले प्रति व्यक्ति ७ रुपैयाँका दरले १ करोड २३ लाख ९० हजार रुपैयाँ वीमा कम्पनीलाई भुक्तानी गर्नु पर्नेछ । कम्पनीले विपद्का कारण मृत्यु भएमा प्रति परिवारलाई १ लाख रुपैयाँका दरले वीमा भुक्तानी दिनेछ । यस्तै, विपद् दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रतिघर ५ लाख रुपैयाँको वीमा सुविधा प्राप्त गर्ने सरकारले व्यवस्था गरेको छ । सामूहिक रुपमा गरिने वीमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वीमा कम्पनीलाई भुक्तानी गर्नेछ । वीमा कार्यक्रमका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।


निशुल्क वीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले प्रदान गर्ने सबै खाले सेवासुविधा हरेक नागरिकले सरल रुपमा प्राप्त गर्नु पर्ने बताए । उनले सबै कर्णालीवासीका लागि विपद् दुर्घटना वीमा कार्यक्रमको शुभारम्भ गर्दै राज्यले दिने सबै प्रकारका सेवा सुविधा सरलरुपमा जनतासम्म पु¥याउनु सरकारको दायित्व भएको उल्लेख गरे । मुख्यमन्त्री शाहीले विपद्को उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले राहतस्वरुप निशुल्क वीमा कार्यक्रम शुरु गरेको जानकारी दिए । उनले वीमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुःखको बेला सरकार आफ्नो साथमा रहेको अनुभूति गराउने विश्वास व्यक्त गरे । यसअघिको स्वास्थ्य वीमा कार्यक्रमको प्रभावकारिताका बारेमा जनताका धेरै गुनासा आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुनासो नआउने गरि यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेश सरकारद्वारा आफ्ना नागरिकका लागि ल्याएको निशुल्क एक लाख रुपैयाँको विपद् दुर्घटना वीमा कार्यक्रम ऐतिहासिक भएको जिकिर गरे । ‘गरिवीको दुश्चक्रले आक्रान्त पारेको प्रदेश बासीन्दालाई निशुल्क एक लाख रुपैयाँको विपद् दुर्घटना वीमा कार्यक्रमले दुःख बेला केही हदसम्म राहत पुग्नेछ,’ उनले भने, ‘प्रदेश सरकारले नागरिकको पोल्टामा दिएको उपहारलाई प्रभावकारी कार्यान्वयन गर्न सम्वद्ध पक्ष आजै बाट जुट्नु पर्छ ।’ उनले विपद्को उच्च जोखिमा रहेको कर्णाली प्रदेशमा निशुल्क विपद् वीमा कार्यक्रमबाट नागरिकलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा राखिएको विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधबार
Translate »