सुर्खेतका पानी उद्योग मापदण्ड विपरित
लक्ष्मी वि.क /असोज ६, सुर्खेत ।
मानव स्वास्थ्यलाई अति नै आवश्यक पर्ने पानी सुर्खेतमा सञ्चालित उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकिएको न्यूनतम मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गरि विक्री वितरण गरिरहेको पाईएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाईमा गत मंगलबार वीरेन्द्रनगरमा गरिएको अनुगमनका क्रममा सदरमुकाम वीरेन्द्रनगरमा रहेका चार वटै उद्योग मापदण्ड विपरित सञ्चालन गरेको पाईएको छ । अनुगमन समितिले पटक–पटक मापदण्ड अनुरुप मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिएपनि ती उद्योगले कुनै सुधार गर्न नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बताए । उनले पछिल्लो तीन महिना तीन पटक अनुगमन गरि कानूनले तोकेको मापदण्ड अनुरुप उद्योग सञ्चालन गर्न निर्देशन दिएपनि आलटाल गरिरहेको जनाए । ‘पटक–पटकको अनुगमनबाट सुधारको अपेक्षा विपरित पानीको गुणस्तर, सरसफाई लगायत सामान्य सुधार पनि भएको देखिदैन,’ उनले भने, ‘मापदण्ड विपरित सञ्चालन भएका ती पानी उद्योग अब बन्द गर्नुको विकल्प देखिदैन ।’ उनले यसअघि गरिएका अनुगमनमा पनि सामान्य मापदण्ड पुरा नगरेकाले ती उद्योगमा शिलबन्दी गरिएको जानकारी दिए । उनका अनुसार त्यति बेला शिलबन्दी गरिएका उद्योग मध्ये केहीले मापदण्ड पुरा गर्ने बचन दिएपछि शिल खोलिएको भएपनि हाल कार्यान्वयन गरेका छैनन् ।
अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्पादन गरिरहेको ती उद्योग दर्तापछि नविकरण समेत हुन नसकिरहेको पाइएको छ । विधिसम्मत ढंगले सञ्चालनमा नरहेका पानी उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न सचेत गराएको तीन महिना वितिसक्दा समेत कारवाही हुने सकेको छैन । नविकरण नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पिउने पानी उत्पादन गर्न दिनुपर्नेमा अनुगमन टोलीले सचेत गराउँदै छोड्दै गरेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको आरोप छ । मञ्चका सचिव रामप्रसाद शर्माले तोकिएको मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गर्ने उद्योगलाई कार्वाहीको दायरामा ल्याउन नसक्नु सरकारी कमजोरी रहेको बताए । ‘मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगलाई सचेतना दिएर छोडन हुँदैन,’ उनले भने । उनका अनुसार सरकारले खाद्य वस्तुको स्वच्छता कायम गर्न खाद्य स्वच्छता अभियान नै सञ्चालन गरेको भएपनि सुर्खेतमा कार्यान्वयन हुन सकेको छैन ।
अनुगमन टोलीले वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि र पिपिरामा रहेको देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि, खजुरामा रहेको रारा ड्रिङकिङ्ग वाटर सप्लाई उद्योग र तातापानीमा रहेको जय श्री पिउने पानी उद्योग स्वच्छ पिउने पानी सम्बन्धी निर्देशिका र ऐन विपरित उद्योग सञ्चालन गरिरहेको पाइएको छ । अनुगमनका क्रममा मापदण्ड विपरितका ती उद्योगमा सरसफाई नगरिएको, खुला रुपमा पिउने पानी भर्ने गरेको, अनुज्ञापत्र नविकरण नभएको, बाह्य वातावरण सुहाउँदो नभएको, ब्याट्रीमा हाल्ने पानी र पानी पिउने पानी सँगै राखेको पाईएको छ । अनुगमन गरिएका चार उद्योग मध्ये देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालि स्तरोन्नतीको प्रक्रिया रहेको पाईएको थियो ।