फोरजी सेवाले कर्णालीमा उत्साह थपियोः मुख्यमन्त्री शाही

एकैपटक देशका ५० शहरमा फोरजी विस्तार

असोज १५, सुर्खेत ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले कर्णालीसहित सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गरेको भिडियो कन्फरेन्स मार्फत बुधबार (आज) वीरेन्द्रनगरमा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फोर जी सेवा शुभारम्भले कर्णालीबासीमा नयाँ उत्साह थपिएको बताए । उनले प्रदेशको तीव्रतर विकास तथा समृद्धिका सूचना प्रविधिको विकास निरन्तर आवश्यक रहेको औल्याए । ‘फोर जी इन्टरनेट सेवाको विस्तारले कर्णालीलाई विश्वसँग जोड्न महत्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने, ‘प्रविधिको सही सदुपयोग गरि सकारात्मक कार्य गर्न सके धेरै फाइदा हुनुका साथै नकरात्मक कार्यका लागि प्रयोग भयो भने विनास समेत ल्याउँछ ।’ उनले प्रविधिको सही प्रयोग गरि व्यक्तिले विकास तथा समृद्धि ल्याउन सक्ने जिकिर गरे ।


नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अन्नत मल्लिकले देशैभर फोजी सेवा विस्तार गर्ने आफ्नो महत्वकांक्षी परियोजनाको पहिलो चरणमा बुधबार ३६ जिल्लाका ५९ सहरमा सेवा शुरु भएको जनाए । उनले आगामी चार महिनाभित्र सबै जिल्लामा फोजी सेवा पु¥याउने लक्ष्य टेलिकमले तय गरेको बताए । फोजी एलटीई सेवा विस्तारको लागि टेलिकमले गत माघ २० गते एक चिनियाँ र हङकङस्थित कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । करिब १९ अर्ब लागत रहेको परियोजना एक वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भएको टेलिकमले उनको भनाइ छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक २ करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको संख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।


के हो फोरजी सेवा ?
फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिकरुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रूपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो । फोरजी सेवाबाट ताररहीत उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ ।


कसरी गर्ने ‘एक्टिभेट ?
टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ । थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैंका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् ।


कुन–कुन शहरमा पुग्यो फोरजी नेटवर्क ?
टेलिकमका अनुसार बुधवारदेखि सुर्खेत नेपालगञ्ज, कोहलपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा फोरजी सञ्चालनमा आएको छ । त्यस्तै चन्द्रगढी, बिर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटा, जनकपुर, जलेश्वर, मलंगवा, बारा, पर्सा, सिमरा, कलैया, गौरमा यो सेवा सुचारु भएको छ । यसैगरी धादिङ, भीमदत्तनगर, झलारी, पिपलाडी, तुलसीपुर, घोराही, चौमला तथा अत्तरियालगाएतका शहरमा फोरजी सेवा शुरू भएको टेलिकमले बताएको छ ।

Translate »