कर्णालीका संसदीय समितिका अध्यक्ष निर्विरोध चयन


स्काई न्यूज /असार २९,सुर्खेत ।
कर्णाली प्रदेशसभा अन्तर्गतका संसदीय समितिको नेतृत्व निर्विरोध चयन गरिएको छ । शनिवार चारओटा समितिको अध्यक्ष पदका लागि एक/एकजनाले मात्र मनोनयन दर्ता गराएपछि नेतृत्व निर्विरोध भएको हो ।प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिको अध्यक्षमा दिनबन्धु श्रेष्ठले मनोनयन दर्ता गराएका थिए । श्रेष्ठ यसअघि पनि ज्येष्ठताका आधारमा उक्त समितिको अध्यक्ष थिए । कर्णाली प्रदेशसभाका निमित्त सचिव वीरबहादुर केसीका अनुसार आइतवार दिउँसो १ बजेका लागि निर्वाचन समय तोकिएको थियो । यद्यपि अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका छन् । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची–५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा सपथ ग्रहणपश्चात् अध्यक्षहरूले कार्यभार सम्हाल्ने कार्यक्रम हुने उनले बताए । समिति गठन भएको २ वर्ष बितिसकेपछि औपचारिक रूपमा नेतृत्व चयन गरिएको हो ।