अनलाइन कक्षाका लागि कार्यविधि तयार

स्काई न्यूज / असार २९,सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)  ले अनलाइन कक्षा सञ्चालनका लागि कार्यविधि तयार पारेको छ । विश्वविद्यालयले कार्यविधि बनाएर अनलाइन कक्षा व्यवस्थित गराउन थालेको हो । विश्वविद्यालय प्राज्ञिक परिषद्को १०औं बैठकले अनलाइन कक्षासम्बन्धी कार्यविधिलाई पारित गरेको छ ।कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरू बन्द भएपछि पढाई प्रभावित भएका बेला एमयूले अनलाइन सम्बन्धी कार्यविधि बनाएर व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गर्ने तयारी गरेको हो । विश्वविद्यालयले ‘डिजिटल, भर्चुअल एन्ड अथेन्टिक टिचिङ लर्निङ एन्ड अपरेटिभ स्टिम’ नाम दिएर उक्त यो कार्यविधि ल्याएको बताएको छ ।

विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले तत्काल सामाजिक दूरी कायम गरेर भए पनि भौतिक रूपमा कक्षा सञ्चालन गर्न सम्भव नभएकाले अनलाइन कक्षामा जोड दिन लागिएको बताए । ‘अनलाइन कक्षासम्बन्धी महत्वपूर्ण गाइडलाइन बनाएर पारित गरिएको छ’, उनले भने, ‘कक्षा कसरी सञ्चालन गर्ने, परीक्षा र प्रयोगात्मक कार्यक्रम कसरी गर्ने भन्ने विषयमा कार्यविधिमा उल्लेख छ ।’लकडाउन भएसँगै अनलाइन कक्षा शुरू गरेको विश्वविद्यालयले यसलाई थप व्यवस्थित गर्न कार्यविधि ल्याएको हो । उपकुलपति सिंहले अहिले अनलाइन कक्षामा एउटा सेमेस्टर सकिए पनि अर्को सेमेस्टर पढाउने र लकडाउन पूूर्ण रूपमा खुलेर विश्वविद्यालय सञ्चालन भए विद्यार्थीहरूलाई दुुई हप्ताको समय दिएर परीक्षा दिने व्यवस्था गरिने बताए । उनले हाल विश्वविद्यालयका करीब ७० प्रतिशत विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी हुँदै आएको जानकारी दिए ।

Translate »