शिकार खेल्न गएका युवकको कंकाल भेटियो

स्काई न्यूज/ साउन ४, सुर्खेत ।
पाँच महिना अघि बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका युवकको कंकाल भेटिएको छ । गत फागुनमा शिकार खेल्न गएको बेला बेपत्ता भएका बराहताल गाउँपालिका–१, सम्सेलीका ३५ वर्षीय शिवराम रानाको कंकाल पाँच महिनापछि फेला पारेको हो । सुर्खेत प्रहरीले बर्दियाको ठाकुरद्वारा नगरपालिका–१ स्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट भरुवा बन्दुकसहित रानाको कंकाल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले रानाको हात, खुट्टाको हड्डी, खप्परसहित एक नाले भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग गरिने छर्रा, एक/एक थान हँसिया, खुकुरी, चक्कु, मृतकको कपडा, झोला र चप्पल पनि फेला पारेको जानकारी दिए ।
उनका अनुसार गत फागुन १० गते शिवरामकी श्रीमती मनरुपा रानाले आफ्नो श्रीमानलाई सँगै गएका दुई छिमेकीले नै बेपत्ता पारेको भन्दै खोजी गरिदिन जिप्रकामा जाहेरी दिएकी थिइन् । जिप्रका सुर्खेतले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर असार १६ गते प्रहरी निरीक्षण गोपाल रायमाझीको कमाण्डमा गएको टोलीले बर्दियाको ठाकुरद्वारा नगरपालिका–१, पाँडेखोलामा रानाको कंकाल र लताकपडा फेला पारेको जानकारी दिएको हो । लताकपडाका आधारमा मृतकका श्रीमती र बाबुले शिवराम भएको सनाखत गरेको प्रहरीको भनाई छ । शिकार खेल्न शिवरामसँगै अन्य दुई जना यामबहादुर सम्सेली र सूर्यबहादुर वली गएका थिए । जाहेरीको आधारमा प्रहरीले मृतकसँगै शिकार खेल्न गएका सम्सेली र वलीलाई असार १६ गते पक्राउ छ । घटना भएको केही दिनमा भारत गएका सम्सेली र वली बराहताल–१, स्थित घर फर्किएको सूचना मृतकको श्रीमतीले दिएपछि पक्राउ गरेको एसपी भट्टले बताए । ‘अब केही दिनमा थप पुष्टिका लागि मृतकको डीएनए परीक्षण गरिनेछ,’ उनले भने, ‘सनाखत भएपनि मृतकको श्रीमतीले भने गत बिहीबार आफ्नो श्रीमानको हत्या भएको भन्दै गत बिहीबार प्रतिवादी सम्सेली र वलीविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएकी छिन् ।

घटनाको वैज्ञानिक अनुसन्धान (डीएनए) परीक्षण पछि मात्रै आरोपित दोषी हुन वा होइनन् भन्ने पत्ता लाग्ने प्रहरीको भनाइ छ ।’ मृत्तककी श्रीमतीको उजुरीपछि उनीहरु दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइ विस्तृत अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा सम्सेली र वलीले शिवरामलाई बाघले मारेको बयान दिएका छन । घटनाको प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक गोपाल रायमाझीले रानाको हाड तथा कपडाहरु निकुञ्जको भिरालो झाडीमा फेला परेको बताए । सम्सेली र वली विरुद्ध व्यक्ति बेपत्ता सम्वन्धी कसुरको ठाउँमा कर्तव्य ज्यान मुद्धामा जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीले योजना बनाएको छ । सम्सेली र वली विरुद्ध हातहतियार सम्वन्धी मुद्धा र बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी कसुरमा पनि प्रहरीले मुद्धा चलाउन सक्ने कानून व्यवसायीको भनाइ छ ।