मास्क नलगाउनेबाट रू.१ लाख राजस्व संकलन

ट्राफिक प्रहरीले उठायो रू. ५ लाख ८९ हजार

स्काई न्यूज / सावन, ७ सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्दा रू.१ लाख भन्दा बढी राजस्व संकन भएको बताएको छ । कार्यालयका अनुसार २ हप्तामा १ हजार ५९ जनालाई कारबाही गरी रू. १ लाख ५ हजार ९०० राजस्व संकलन गरेको हो । गृह मन्त्रालयको असार २२ गतेको निर्देशन अनुसार प्रशासन कार्यालयले मास्क नलगाई बाहिर निस्किनेलाई रू. १०० जरीवाना तिराउने गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अटेरी गरी बाहिर निस्किनेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाहीस्वरूप जरीवाना गरिएको बताए । लकडाउनको अवधिमा अन्य जिल्लामा भन्दा सुर्खेतमा कडाइ गरे पनि नागरिकहरूमा अटेरी गर्ने प्रवृत्ति भने बढेको उनले बताए । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउनको उल्लंघन गर्ने ५८३ ओटा सवारीसाधन नियन्त्रणमा लिएर सवारीधनीलाई कारबाही गरेको छ । कारबाहीबाट रू. ५ लाख ८९ हजार ५०० राजस्व संकलन गरेको बताएको छ ।

Translate »