कर्णालीमा रू. १६ अर्ब ३६ करोड बजेट खर्च


स्काई न्यूज / साउन ११, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रू. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ । रू.३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्यअनुसार खर्च गर्न सकेन । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पूँजीगततर्फ रू. ९ अर्ब १२ करोड ७२ लाख २४ हजार ८४२ तथा चालूतर्फ रू. ७ अर्ब २४ करोड २० लाख ४० हजार २५४ खर्च गरेको छ । पूँजीगततर्फ रू. २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार र चालूतर्फ रू. १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका उपसचिव दिलिप केसीले गत आर्थिक वर्ष २०७६/७७ मा पूँजीगततर्फ ४२ दशमलव ८ प्रतिशत र चालूतर्फ ५५ दशमलव ४५ प्रतिशत तथा औसतमा ४७ दशमलव ६५ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७७ दशमलव २६ प्रतिशत अथार्त रू. २ अर्ब ६५ करोड ३८ लाख ३ हजार ६६५ खर्च गरेको छ । यस मन्त्रालयका लागि रू. ३ अर्ब ४३ करोड ५ लाख ७९ हजार विनियोजन गरिएको थियो । सामाजिक विकास मन्त्रालयका लागि रू। ४ अर्ब ७० करोड ७२ लाख ६९ हजार विनियोजित बजेट मध्ये रू.२ अर्ब ७९ करोड ९४ लाख ३६ हजार ८१० खर्च गरेको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रू. १ अर्ब ४७ करोड ३० लाख २९ हजार ४७१ खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजित रू. १० अर्ब ७० करोड ४८ लाख २३ हजारमध्ये ४ अर्ब ६८ करोड ५० लाख १७ हजार ५५० रूपैयाँ खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले रू. ४२ करोड ७९ लाख ५९ हजार ७०८ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रू. १ अर्ब २२ करोड २३ लाख ७२ हजार ९४ खर्च गरेका छन् । कर्णाली प्रदेशसभा सचिवालयले रू. १० करोड ७० लाख २१ हजार ८५२, मुख्य न्यायाधिवक्ताको कार्यालयले रू.९३ लाख ९७ हजार ७०६, प्रदेश योजना आयोगले रू.१ करोड ४३ लाख २२ हजार ९८२ बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कर्णाली सरकारले ७९ ओटै स्थानीय तहमार्फत रू. २ अर्ब ८० करोड ६५ लाख ६५ हजार ८२५ खर्च गरेको छ । प्रदेश सरकारले साढे दुई वर्षको अवधिमा एउटा चौमासिक र तीन ओटा पूर्ण वार्षिक बजेट ल्याइसकेको छ । त्यसमध्ये एउटा आंशिकसहित दुई ओटा बजेट कार्यान्वयन गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा सरकारले रू. २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्यायो । जसमध्ये रू. ९ अर्ब ८० करोड ६५ लाख ८१ हजारमात्र खर्च गर्न सफल भयो । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले विनियोजन गरेको रू. ३४ अर्ब ३५ करोड बजेटमध्ये रू. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ ।