युवाद्वारा विद्यालयमा रङरोगन र सरसफाइ
स्काई न्यूज / सावन १३, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीको चाँदनी चौकीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा स्थानीय युवाले रङरोगन र सरसफाइ गरेका छन् । लाटीकोइलीका युवाहरूको समूहले विद्यालयमा गत शनिवार सरसफाइ र जीर्ण भएको विद्यालयमा रङरोगन गरेका हुन् । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विद्यालयलाई युवाहरूले सरसफाइ र रङरोगन गरेपछि अहिले विद्यालयको वातावरण फेरिएको छ ।२०४४ सालमा स्थापना भएको विद्यालयमा हाल २१५ जना विद्यार्थी अध्ययनरत छन् । रेडियो भेरीका व्यवस्थापक केशव कोईरालाको आर्थिक सहयोगमा युवाहरूले विद्यालयमा रङरोगन गरेको स्थानीय युवा सनम गिरीले बताए । आफूहरुले गाँउटोलमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको स्थानमा सामाजिक कार्यहरू गर्दै आएको उनको भनाइ छ ।
युवाहरूको सहयोगप्रति धन्यवाद दिँदै सो विद्यालयका प्रधानाध्यापक निमबहादुर शाहले युवाहरूको सहयोग उदाहरणीय भएको बताए । सरसफाइ कार्यक्रममा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठलगायत वीरेन्द्रनगर नगरपालिका ९ नम्बर वडाका युवाहरूलाई सहयोग गर्न कैंचीग्याङ समूहका युवाहरू पनि सहभागी भएका थिए । पछिल्लो समय ९ नम्बर वडाका युवाहरूको सक्रियतामा काँक्रेविहार संरक्षण क्षेत्रमा जरायोको आहाराका लागि सुपरनेपिर घाँसका १ हजार ५०० ओटा बिरुवा रापेका छन् । रङरोगन तथा सफाइमा जुटेका ३५ जना भन्दा बढी युवाहरूलाई स्थानीय एकदेव गिरी र रेशम थापा, राजन गिरी र गोबिन्द गिरीले खाजा र पानीको व्यवस्था गरेका थिए ।