होटल खुले पनि व्यापार शून्य

स्काई न्यूज / साउन १७, सुर्खेत ।
कोरोना भाइरसका कारण अन्य क्षेत्र जस्तै होटेल व्यवसाय पनि प्रभावित छन् । लाखौं करोडौंको ऋण लिएर होटेल व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई लामो लकडाउनले ठुलो घाटा समेत लाग्यो । एकातर्फ लकडाउन लम्बिने अर्कोतर्फ बैङ्क सहकारी ब्याज बढ्दै जाने तनावले व्यवसायी निकै चिन्तित छन् । व्यवसायीले सकभर ब्याज मिनाहा गर्नुपर्ने नभए १/२ वर्ष भाका सार्नुपर्ने माग गरे पनि सम्बोधन हुन सकेन । अन्ततः करिब साढे तीन महिनासम्म जारी लकडाउन साउन ६ गतेबाट अन्त्य भएपछि होटेल व्यवसायी केही हदसम्म खुसी भए । कर्णालीका हिमाली जिल्लामा कोरोना सङ्क्रमणको खतरा कमै छ । कर्णालीमा अहिलेकै समयमा आन्तरिक तथा बाह्य पर्यटकको र्घुचो हुन्छ । सरकारले ठिक समय लकडाउन खुलेको र होटेल व्यवसायले साढे तीन महिना गुमाएको आम्दानी कमाउने अपेक्षामा व्यवसायी थिए । सोही अनुसार होटेल सञ्चालनमा पनि ल्याए । साउन ६ गतेको मन्त्रिपरिषद्को बैठक अनुसार साउन १५ गतेबाट होटेल व्यवसाय सञ्चालन हुने भनिए पनि कर्णालीमा विगत तीन हप्ता पहिले देखिनै सञ्चालनमा थिए ।

जुम्ला सदरमुकाम रहेका तीन दर्जन बढी होटेल सचालनमा आए पनि व्यापार नहुँदा घाटामा गएको होटेल व्यवसायी कालो परियारले बताए । सामाजिक सञ्जालमार्फत जुम्लाका दर्जनौँ होटेल व्यवसायीले आन्तरिक तथा बाह्य पाहुनाको स्वागतमा कुरिरहेको उल्लेख गरे । तर कोरोनाको त्रास कायमै रहेकाले गर्दा होटेल सञ्चालनमा आए पनि व्यापार भने शून्य रहेको व्यवसायी परियारले गुनासो गरे। बाह्य पाहुना त परै जावस आन्तरिक जिल्ला भित्रका कुनै गतिविधि सञ्चालन नहुँदा होटेलको कमाई शून्य भएको हो । कान्जिरोवा होटेल प्रालिका सञ्चालक नोर्बु लामाले भन्ने ,“सरकारको निर्णय अनुसार साउन १५ गतेबाट होटेल रेस्टुरेन्ट सञ्चालन भए । कर्णालीमा विगत दुई हप्तादेखि होटेल सञ्चालन भए पनि कमाई शून्य छ ।”अन्तर जिल्ला पर्यटकहरूको आवागमन बिना होटेल व्यवसाय सञ्चालन गर्नुको अर्थ नरहेको समेत उहाँको भनाई छ । ग्राहकको माग अनुसार मात्र खोल्ने सरकारको निर्देशन भए पनि एक पनि ग्राहक नआउँदा बैङ्क किस्ता तिर्ने पिरले हैरान भएको समेत लामाले उल्लेख गरे । एकातर्फ बैङ्क तथा सहकारीले किस्ता हाल्न ताकेता दिइरहेका छन् भने अर्कोतर्फ होटेलको कमाई शून्य छ । कसरी किस्ता तिर्ने भन्ने चिन्ताले सताएको छ । ऋण मिनाहा नभए पनि किस्ता तिर्ने भाका भने १/२ वर्ष सार्नुपर्ने माग समेत सम्बोधन नहुँदा होटेल व्यवसायी समस्यामा परेको व्यवसायी राजु केसीले बताए । उहाँका अनुसार आन्तरिक पर्यटकहरू फाटफुट आए पनि लक्ष्य अनुसारको कमाई हुन सकेको छैन ।

Translate »