यार्सागुम्बा बरामद

साउन १८,दार्चुला ।
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलंगाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलंगामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । प्रहरीले कुल ५३० ओटा यार्सागुम्बा बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । संकलन कर्तासँग संकलन इजाजत नभएकाले नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
‘दुई दिनसम्म संकलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौं’, उनले भने । डिभिजन वन कार्यालयले पनि यार्सागुम्बाको अनुसन्धान भइरहेको बताएको छ । निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीका अनुसार सदरमुकाम खलंगामै यार्सागुम्बा भेटिएका कारण वनले यार्सागुम्बाको अनुसन्धान गर्छ ।

Translate »