सुर्खेतमा जात्रालगायत भीडभाड जस्ता कार्यक्रम गर्न नपाईने

स्काई न्यूज /साउन २०, सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले भेला, सभा, सम्मेलन, जात्रालगायतका कार्यक्रममा रोक लगाएको छ । प्रशासनले कोरोना संक्रमण बढ्दै गईरहेकाले नियन्त्रण तथा रोकथामका लागि अर्को सूचना प्रकाशित नहुँन्जेलसम्म कुनैपनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सवलगायत धार्मिक कार्यक्रमहरुमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा मंगलवार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले कृष्ण जन्माष्टमी, हरितालिका तीजलगायतका पर्वहरु पनि रोक रोक लगाउने निर्णय गरेको छ । चाडपर्वमा बढी भीडभाड हुने भएकाले मंगलवारबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सभा, गोष्ठी, सेमिनार, जात्रा, महोत्सवमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

 

उनले कोरोना संक्रमण दर नघटेको कारण जोखिम रहिरहेकाले भारतलगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्नको लागि प्रत्येक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन यथावत राख्ने र आउने व्यक्तिहरुको निगरानी बढाई व्यवस्थित अभिलेख राख्ने निर्णयपनि भएको जनाए । उनका अनुसार कोरोना भाइरसबाट पर्न सक्ने सम्भावित जोखिम नियन्त्रण, रोकथाम तथा उपचार लगायतका कार्यको लागि जिल्लामा हालसम्म भए गरेका क्रियाकलापहरुको समेत समिक्षा गरिएको थियो ।

Translate »