तिला नदीमा र्याफ्टिङ व्यवसाय शुरू
स्काई न्यूज / साउन २१,सुर्खेत ।
जुम्लाको तिला नदीमा र्याफ्टिङ व्यवसाय शुरू गरिएको छ । गो कर्णाली ट्राभल एण्ड टूरले तिला नदीमा व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।चन्दननाथ नगरपालिकाको दानसाँघुदेखि तातोपानी गाउँपालिकाको राकाँसम्म र्याफ्टिङ सञ्चालन गरिनेछ । गो कर्णालीका सञ्चालक ललितजंग महतका अनुसार साउन महीनामा र्याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी र्याफ्टिङका लागि भौगोलिक वनावट र पानीको वहावको दृष्टिकोणले पनि उपयुक्त रहेको उनले बताए । ‘थुप्रैपटक परीक्षण गरियो । यसपालिदेखि व्यावसायिक रूपमा अगाडि बढाइएको छ,’ महतले भने । तिला नदीमा व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको छ । सो साहसिक यात्रा गर्ने पर्यटकहरूका लागि रैथाने खानाको व्यवस्था समेत गरिएको सञ्चालक महतले जानकारी दिए ।