दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’

रासायनिक मल अभावले कालोबजारी बढ्यो

स्काई न्यूज /साउन २१, सुर्खेत ।
संयुक्त बजार अनुगमन समिति सुर्खेतले अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल जफत गरेको छ । बर्दियाको मधुवनस्थित खनाल एग्रोभेटले अवैध रुपमा भारत निर्मित रासायनिक मल सुर्खेतको भेरीगंगा–१०, छिन्चु स्थित कमला एग्रोभेट सेन्टरलाई बेच्र्दै गरेको विशेष सूचनाको आधारमा अनुगमन समितिले बुधबार उक्त एग्रोभेट सेन्टरबाट ६२ बोरा मल जफत गरेको हो । रासायनिक मल विक्री वितरण गर्ने ईजाजत पत्र विना नै सञ्चालित कमला एग्रोभेटले सरकारले तोकेको बजार मूल्य भन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको पाईएपछि अनुगमन समितिले पसल नै सिल गरिदिएको छ । प्रतिबोरा ८१६ रुपैयाँ मूल्य पर्ने युरिया मल २७ सय देखि तीन हजार रुपैयाँमा बेचबिखन भएको थाहा पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले पसल सिल गरेको हो । नेपाल सरकारको रासायनिक मल कारोवार गर्ने ईजाजत नलिई अनधिकृत तवरले महँंगोमा किसानलाई बेचेको खुलेपछि बाँकी मल जफत गरिएको सहायक प्रजिअ पौडेलले बताए ।

उनले ईलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख माधव चौधरी नेतृत्वको टोलीले २३ बोरा अवैध रासायनिक मल बोकेको से १च–११०६ नम्वरको जीपलाई समेत नियन्त्रणमा लिएर कागजात बैद्यानिक पाईएपछि छोडिएको जनाए । उनका अनुसार जफत गरिएको अवैध रासायनिक मल साल्ट टे«डिङ्ग कर्पोरेशन शाखा सुर्खेतको गोदामका राखिएको छ । ‘अबैध रासायनिक मल नियन्त्रण गर्नुका साथै पसल नै सिल गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढेको छ,’ सहायक प्रजिअ पौडेलले भने, ‘रासायनिक मल विक्री वितरण गर्ने ईजाजत पत्र नै नलिई महँगोमा कृषकलाई मल विक्री गरेको पाईकाले कालाबजारी ऐन अन्तर्गत मुद्धा चलाएर आवश्यक कारवाही गछौं ।’ कोहलपुरबाट ल्याईएको उक्त २३ बोरा मल नियन्त्रणमा लिएर छोडिएपनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ । प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको २३ बोरा मलमध्ये ११ बोरा मल बेचिसकेकाले बाँकी मलमात्र जफत गरिएको ईप्रका छिन्चुका प्रमुख चौधरीले बताए । वास्तविक मूल्यभन्दा एक हजार ४०० रुपैयाँ भन्दा बढीले बेचिएको उक्त मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।


मलको अभाव कायमै
धान रोपाइ सुरु भएसंगै सरकारी अनुदानबाट प्राप्त रासायनिक मलको कालोबजारी बढेको छ । सरकारी अनुदानको मल, कृषि सहकारी संस्थाहरुले सिधै किसानलाई बिक्री गर्नु पर्ने ठाउँमा मुनाफा लिएर व्यापारीलाई बिक्री गरिन थालेपछि किसान दोव्वर मुल्यामा मल किन्न बाध्य छन् । भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल, कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ । तर सुर्खेतमा भने कृषि सहकारी संस्थाहरुले लकडाउनको मौका छोपेर सरकारी अनुदानको मल, किसानलाई नदिएर बढी मुनाफाको लोभमा व्यपारीलाई बिक्री गरिरहेको कृषकको आरोप छ । सुर्खेतमा हरेक बर्ष करिब ३० हजार हेक्टर धान रोपाइका लागि ४ मेट्रोटन रासायनिक खादमल अवश्यक पर्छ । तर लकडाउनको बहानामा कृषि सहकारीले पसलहरुमा बिक्री गरेर बजार महँगो भएको हो । यसपालि रासायनिक मल अभावमा धानको उत्पादनमा समेत कमि आउने देखिन्छ । धान रोपाई शुरु भएदेखि नै कृषकले पर्याप्त मल नपाउँदा समस्या परेको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेशनसंग मलको मागगर्दा कृषि सहकारी संस्थालाई समान रुपले बितरण गरेको बताइरहेको छ भने कृषि सहकारी संस्थामा बुझ्दा मल नै नआएको बताउँछन् । तर त्यस्तै मल चर्को मुल्यमा पसलमा बिक्री भइरहेको छ । बाँके र बर्दीया नाका हुँदै भारतबाट अबैध रुपमा सुर्खेतसँगै कर्णाली प्रदेशमा रासायनिक मल कागजात मिलाएर भित्राउदैँ गरेको दैनिक देख्न सकिन्छ । सुर्खेतमा अहिले सरकारी अनुदानबाट प्राप्त रासायनिक मलको कालोबजारी भएपछि भारतीय अबैध न्यून गुणस्तरको मल अनधिकृत तवरले कृषक मल किन्न बाध्य छन् । कृषकले अहिले दोब्बर बढी मूल्य तिरेर भारतीय रासायनिक मल खरिद गरिरहेको भेरीगंगाका कृषक टोखाराम वलीले जनाए । उनले निर्धारित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको बताए ।

यता धानका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले दुई महिना अगावैदेखि सिद्धिएको बताएको छ । कम्पनी सुर्खेत प्रमुख टोपराम गौतमले हाल भैरहवाबाटै अनुदानको रासायनिक मलको आपूर्ति रोकिएकाले किसानको माग पुरा गर्न नसकिएको जनाए । माग अनुसारको मल आपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेत, कर्णाली प्रदेश कृषि विकास निर्देशनालय लगायतका कार्यालयले रासायनिक मलको आपूर्ति सहज बनाई दिन सम्बन्धि निकायलाई पत्राचार गरेपनि सुनुवाई नभएको कृषि निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए ।

Translate »