बेस्तडामा दुग्ध उद्योग सञ्चालनमा

स्काई न्यूज / साउन २७, दैलेख ।
पूर्वी दैलेखको भगवतीमाई गाउँपालिकामा दुग्ध उद्योग सञ्चालमा ल्याइएको छ । भैंसी पालक किसानहरुको आयआर्जन र उत्पादन वृद्धि गरी व्यवसायप्रति आकर्षण बढाउने उद्देश्य सहित वडा नम्बर –१ को बेस्तडा बजारमा दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो । स्थानीय स्तरमै दुग्ध उद्योग सञ्चालनमा आएपछि यहाँका दुध उत्पादक किसानहरु अहिले खुसी भएका छन् । यो क्षेत्रका दुग्ध उत्पादक किसानले दुधको उचित मूल्य नपाईरहेका बेलामा पौरखी कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा दुग्ध उद्योग सञ्चालनमा ल्याएको हो । स्थानीय गणेशबहादुर रोकायाले पौरखी कृषक सहकारी दर्ता गरेर यहाँका किसानहरुको समस्यालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको बताए । उद्योग स्थापनाका लागि पौरखी कृषि सहकारीको रू. ३ लाख र भगवतीमाई गाउँपालिकाद्वारा रू. ३ लाख सहयोग गरी ६ लाख लागत लागेको उनले बताए । रोकायाले भने ‘यस गाउँपालिकाका करीब ७० प्रतिशत मानिसहरुले एक वा दुई ओटासम्म भैँसी पाल्ने गरेका छन् ।

तर, उनीहरुले उत्पादन गरेको दुधलाई खपत गर्ने ठाउँ नपाएर किसानहरु घ्यू बनाउँछन् । घ्यू बनाउँदा एक जना किसानले बढिमा प्रति महीना १ हजार ५०० देखि २ हजारसम्म मात्र कमाइ गर्छन्,’ उनले भने, ‘अहिले किसानहरुले स्थानीय बजारमा दुध सस्तो मूल्य रू. ३५ मा विक्री गर्दछन् । जसका कारण उनीहरु निकै मारमा परेका छन् । त्यही घ्यू बनाउँने दुध विक्री गर्न पाएपछि किसानले मासिक १५/२० हजारसम्म आम्दानी गर्न सक्छन् । ’उद्योग सञ्चालक रोकायाका अनुसार उद्योगमा दुध ल्याउने किसानलाई प्रति लिटर रू. ५० रुपैयाँ दिने गरिएको छ । अहिले शुरुवाती अवस्थामै १२ जना किसानहरु उद्योगसँग जोडिएका छन् । केही दिन अघिदेखि मात्र हामीले उद्योग सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘दैनिक ४० लिटर जती दुध अहिले जम्मा हुने गरेको छ । अहिले त यहाँकै बजारमा खपत भएको छ । पहिला घरघरबाट लिएर विक्री गर्ने किसानहरु उद्योगतर्फ आकर्षित भएको सञ्चालक रोकायले बताए ।

Translate »