२०८३ असोज २१ , बुधबार
Sky News Nepal
October 7, 2026

भदौ १६ गते हवाई सेवा सञ्चालन नभए आन्दोलन गर्न बाध्य



साउन २८, काठमाडौं ।
वायु सेवा सञ्चालक संघ नेपालले भदौ १६ गतेबाट हवाई सेवा पुनः सञ्चालन नभएमा आन्दोलनमा जाने बताएको छ । आन्तरिक हवाई सेवा उद्योगलाई तत्कालै संचालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएको भन्दै वायु सेवा संञ्चालक संघले बुधवार प्रेस विज्ञप्तिमार्फत उडान सञ्चालन गर्न नपाउँदा दिनानूदिन ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको उल्लेख गरेको छ । जारी विज्ञप्तिमा कोभिड–१९ महामारीको दौरानमा उडानलाई व्यवस्थित तुल्याउन विश्व स्वास्थ्य संगठन (डब्लू एचओ) तथा आईकाओले निर्धारण गरेको मापदण्डलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरुले उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरी तयारी अवस्थामा रहेको पनि उल्लेख छ ।

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्ने भन्दै सञ्चालकहरुले टिकेटिङ सिष्टमबाट यात्रुहरुको कन्ट्याक्ट ट्रेसिङ पनि क्षणभर मै गराउन सकिने विज्ञप्तिमा उल्लेख छ । सरकारले आगामी भदौ १ गतेबाट उडान संचालन गर्ने यसअघि घोषणा गरेको थियो । फेरि मंगलवार अर्को निर्णय गर्दै सरकारले भदौ १५ सम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । कोरोना महामारी नियन्त्रण गर्न लकडाउन शुरु भएयता चार्टर बाहेक नियमित उडान बन्द अवस्थामा छन् । बाढीपहिरो, असक्त बिरामी, सुत्केरी लगायतलाई उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेको छ भन्दै विज्ञप्तिमा हवाई सेवा लामो समयसम्म बन्द भएको कारणले यस उद्योगमा प्रत्यक्षरपरोक्ष आश्रित १० औं हजार श्रमिकको आय स्रोत तथा तिनमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुनका साथै हवाई उद्योग नै धरासायी बन्दै गइरहेको उल्लेख छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधबार
Translate »