निर्माणको ७ वर्षपछि ‘रामघाट सवस्टेशन’ सञ्चालन

नियमित, भरपर्दो र गुणस्तरीय सेवा पाउने उपभोक्ताको अपेक्षा

स्काई न्यूज /साउन २८, सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा निर्माण शुरु भएको ७ पछि ‘रामघाट सवस्टेशन’ सञ्चालनमा आएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारणलाईन अन्तर्गत रामघाट सवस्टेशनसम्म ११ केभी लाइन पुगेपछि मंगलबारबाट लोड दिएर सञ्चालनमा ल्याईएको हो । २०६८ सालमा निर्माण शुरु भएको सवस्टेसन २०७० जेठमा सम्पन्न भएको थियो । २ वर्षमा सम्पन्न भएको सबस्टेसन ११ केभीका ३ वटा फिडर निर्माण गरी ६० वटा ट्रान्सफर्मर जडान गर्न समय लागेकाले सञ्चालनमा ल्याउन ढिलाई भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले बताए । ‘सवस्टेसनको पहिलो फिडर सञ्चालन भएको छ,’ उनले भने, ‘दोस्रो फिडर पनि केही दिनमै सञ्चालन हुँदैछ । तेस्रो फिडरको वन क्षेत्रमा समस्या भएकाले केही ढिलो हुने देखिन्छ ।’ उनका अनुसार सवस्टेसनबाट रामघाट–छिन्चु–हर्रे, रामघाट–दशरथपुर–कल्याण–चिङगाड र रामघाट–जहरे–बोटेचौर फिडर सञ्चालन हुनेछन् ।

सवस्टेसन सञ्चालन भएपछि ३३ केभी लाइन ट्यापिङ गरेर सेवा दिँदै आएकोमा अब ११ केभी लाइनबाट ग्राहकले विद्युत सेवा पाउने उनले बताए । अब सुर्खेतमा लाइन ट्यापिङ गर्दा हुने ट्रिपिङको समस्या पनि समाधान हुने अपेक्षा राखिएको छ । करिब ५ करोड ५० लाख रुपैयाँ लागतमा सवस्टेसन सम्पन्न भएको थियो । यो सवस्टेसन आरके इन्टरनेशनल कम्पनीले निर्माण गरेको हो । यसको नियमन तथा अनुगमन प्राधिकरणको सुर्खेत प्रादेशिक कार्यालयले गरेको थियो । रामघाटमा सवस्टेशन सञ्चालनमा आएसँगै पूर्वी सुर्खेतका झण्डै २५ हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत प्रयोग गर्न पाउने अपेक्षा राखिएको छ ।

‘पूर्वी सुर्खेतका विभिन्न गाउँहरुमा ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुनेलगायतका समस्या थिए’, केन्द्र प्रमुख गिरीले भने, ‘अब कोहलपुर ३३ केभीबाट रामघाट सवस्टेशन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने छ ।’ रामघाट सवस्टेशनबाट ३ वटा फिडरहरु राखिएको छ । त्यसमध्ये ११ केभीका दुईवटा फिडरहरुबाट विद्युत आपूर्ति गरिएको उनले जानकारी दिए । लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा थप सवस्टेशनको निर्माणसँगै स्तरोन्नती गर्ने प्राधिकरणको योजना छ । यता राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले सवस्टेशन निर्माणपश्चात पूर्वी सुर्खेतका नागरिकलाई ठूलो राहत मिल्ने अपेक्षा राखेको बताएको छ । ‘हामीले वषौंदेखि लोडसेडिङ र लो भोल्टेजको समस्या झेल्दै आएका हौं, रामघाट सवस्टेशन सञ्चालनपछि यो समस्या हल हुने अपेक्षा राखेका छौं,’ मञ्चका कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले भने, ‘स्थानीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पु¥याउने विश्वास राखेका छौं ।’

Translate »