चौकुनेमा इन्धन भण्डारण निर्माण गर्न आयल निगमलाई निम्ता

आवश्यक जग्गा उपलब्ध गराउन सरकोवारवाला तयार

 

स्काई न्यूज/ भदौ ११, सुर्खेत ।
नेपाल आयल निगमलाई चौकुनेमा आउन सरोकारवालाले आग्रह गरेका छन् । जग्गा अभाव देखाउँदै तीन वर्ष देखि अलपत्र पारिएको प्रादेशिक इन्धन भण्डारण निर्माण आयोजना चौकुनेमा निर्माण सुनिश्चित गरे निगमलाई आवश्यक जग्गा उपलब्ध गराईने सरोकारवालाले बताएका छन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, गुटुका समाजसेवी काशीराम देवकोटाले प्रादेशिक इन्धन भण्डारण निर्माण आयोजना बनाउने सुनिश्चित भए आफुहरु जग्गा दिन तयार रहेको बताए । उनले सदरमुकाम वीरेन्द्रनगर भन्दा कम मूल्यमा इन्धन भण्डारण निर्माणका लागि चौकुनेको गुटुमा आवश्यक जग्गा उपलब्ध गराईने जिकिर गरे । ‘कर्णाली प्रदेशमा इन्धन भण्डारण नहुँदा अहिलेपनि अन्य प्रदेशको तुलनामा यहाँका उपभोक्ताले महँगोमा इन्धन खरिद गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पश्चिम सुर्खेतको गुटुमा प्रादेशिक इन्धन भण्डार निर्माण भएपछि उपभोक्तालाई कम्तीमा प्रतिलिटर ५० पैसा सस्तो पर्न जानेछ ।’ उनले हाल पश्चिम सुर्खेतमा कतैपनि निगमको आधिकारिक विक्रेता नरहेकाले उपभोक्ताले महँगोमा इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको बताए । प्रस्तावित चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकसँगै मदन भण्डारी राजमार्गको केन्द्र विन्दु रहेको गुटुमा निगमले तत्काल आफ्नै लगानीमा पेट्रोल पम्म निर्माण गरेर उपभोक्तालाई सहज इन्धन आपूर्तिको व्यवस्था गर्न उनले माग गरे ।

‘सुर्खेत सदरमुकामदेखि ६० किलोमिटर पश्चिममा पर्ने चौकुने गाउँपालिकाको गुटु स्थित लालझारी जंगल इन्धन भण्डारणका लागि उपयुक्त देखिन्छ,’ उनले भने, ‘सदरमुकाम वीरेन्द्रनगरमा पर्याप्त जग्गा पाएन भनेर ३ वर्षदेखि आयोजना नै अलपत्र पार्न पाईदैन् । निगमले चौकुनेमा इन्धन भण्डारणका लागि आवश्यक प्रक्रिया शुरु गरोस् । आवश्यक जग्गा उपलब्ध गराईनेछ ।’ उनले प्रादेशिक इन्धन भण्डारणको सम्भाव्यतता अध्ययनका लागि निगमलाई चौकुनेमा आउन निम्ता दिए । यता मदन भण्डारी राजमार्गसँगै सुर्खेत–विजौरा ११ केभी विद्युत प्रसारण लाईन निर्माण कार्य भईरहेकाले निगमको प्रादेशिक इन्धन भण्डारण निर्माणका लागि गुटु उपयुक्त स्थान हुन सक्ने चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनले निगमले चौकुनेमा इन्धन भण्डारण बनाउन चाहेमा आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको जनाए ।

उता निगमका प्रतिनिधि दिपकप्रसाद घिमिरेले जग्गा अभावकै कारण प्रादेशिक इन्धन भण्डारण आयोजना निर्माण प्रक्रिया अघि बढ्न नसकेको जनाए । उनले संघीय सरकारको नीति, कार्यक्रम र बजेटमा कर्णालीमा इन्धन भण्डारण गृह निर्माण गर्ने योजनाले प्राथमिकता पाएपनि उपयुक्त जग्गा अभावले तीन वर्षदेखि प्रक्रिया शुरु हुन नसकेको स्पष्ट पारे । ‘निगमले गत वर्ष सुर्खेतको वीरेन्द्रनगर–११ स्थित नेपाल ट्रस्टको नाममा रहेको २० बिघा जग्गामा इन्धन भण्डारण गृह बनाउने योजना अघि सारेको थियो । उक्त जग्गा बस्तीदेखि टाढा भएपनि समथर नहुनुका साथै नदी किनारमा भएकाले भूक्षय तथा पहिरोको खतरा रहेकाले विकल्पको खोजी भइरहेको छ,’ उनले भने, ‘मुख्य कुरा जग्गाको टुङ्गो लाग्न सकेको छैन्, कम्तीमा १० देखि बढीमा २० बिघासम्म जग्गा चाहिन्छ । निगमले भविष्यमा नेपालगञ्ज समेतलाई आपूर्ति व्यवस्था मिलाउने गरी सुर्खेत जिल्लाभरी जग्गाको खोजी गरिरहेको छ ।’

पछिल्लो समय पश्चिम सुर्खेतको चौकुनेमा प्रादेशिक इन्धन भण्डारण निर्माणका लागि उपयुक्त रहेको भन्दै सरोकारवालाले सम्भाव्यता अध्ययन गरि दिन माग गर्दे आएको उनले जनाए । लालझारीमा इन्धन भण्डारण बनाउन उपयुक्त हुने/नहुने बारे निगमको केन्द्रलाई अध्ययनका लागि आग्रह गरिएको उनको भनाइ छ । सरकारले तीन वर्षअघि सबै प्रदेशमा कम्तीमा तीन महिनासम्म पुग्ने इन्धन भण्डारण गृह निर्माण गर्ने नीति ल्याएको थियो । कर्णालीमा डिजेल, पेट्रोलको भण्डार नहुँदा इन्धन आपूर्तिमा पटकपटक अभाव हुने गरेको छ । २०५२ सालदेखि सञ्चालनमा आएको आयल निगमको सुर्खेत डिपोमा हाल ४५ हजार लिटर मट्टीतेल र ६० हजार लिटर हवाई इन्धनमात्र अट्ने क्षमता छ । वार्षिक झण्डै तीन लाख लिटर मट्टीतेल बिक्री हुँदै आएको छ भने हवाई इन्धन सात दिनमात्र पुग्ने गरेको छ ।

Translate »