२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

कर्णालीका २५ सय बढीमा दुबै आँखा नदेख्ने समस्या



स्काई न्यूज / असोज २४, सुर्खेत ।
कर्णाली प्रदेशमा दुबै आँखा नदेख्ने नागरिकको संख्या २ हजार ५ सय बढी रहेको पाईएको छ । नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतले गत आर्थिक वर्षमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेशका दश वटा जिल्लामा गरेको सर्वेक्षणबाट २ हजार ५ सय ६४ जना फेला परेको पाईएको हो । अस्पतालका निर्देशक डाक्टर शक्तिप्रसाद सुवेदीले प्रदेशभरी दुबै आँखामा न्यून दृष्टि समस्या भएका ३ हजार ५ सय नागरिक रहेको बताए । उनले प्रदेशमा अझै मोतियाविन्दुबाट दृष्टिदोष रहेका ८ हजार नागरिकको सर्जरी गर्नेपर्ने अवस्था रहेको जानकारी दिए । उनका अनुसार प्रदेशको कुल जनसंख्याको १ प्रतिशत अर्थात १८ हजार नागरिक दृष्टिविहिनताको समस्याले ग्रस्त छन् ।

अन्धोपनको मुख्य समस्या रहेको मोतियाविन्दु रोग भएका नागरिकको संख्या कर्णालीमा ६१ प्रतिशत रहेको छ । ‘कर्णालीमा दृष्टि विहिनताको अवस्था अन्त्यका लागि सरकारले प्रदेशस्तरीय नीति नै बनाईनु पर्ने देखिन्छ,’ उनले भने, ‘प्रदेशका हरेक जिल्लामा सर्जिकल केन्द्र स्थापना गर्दे एकीकृतरुपमा साझेदार संस्थासँग प्रदेश सरकार जुटनु पर्ने देखिन्छ ।’ उनले जनसंख्या एवं भूगोलका हिसावले देशका अन्य प्रदेशको तुलनामा कर्णालीका नागरिकको आँखा स्वास्थ्यमा न्यून पहुँच रहेको जानकारी दिए । उनका अनुसार कर्णालीको कुल जनसंख्याको एक तिहाई बढी महिला तथा बालबालिकामा दुष्टि दोषको समस्या रहेको छ । उनले प्रदेशमा हरेक वर्ष आँखा नदेख्ने नागरिकको संख्या बढ्दै गईरहेकाले सरकारको यसतर्फ विशेष ध्यान दिन आवश्यक रहेको औल्याए । उनका अनुसार कर्णाली प्रदेशमा जनसंख्याका हिसावले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मान्ने हो भने ३३ जना आँखा रोग विशेषज्ञ डाक्टर हुनु पर्नेमा हाल दुई जना मात्र कार्यरत छन् । २०६८ को जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १५ लाख ७० हजार ४१८ रहेको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिबार
Translate »