३ वर्षीय समिर मृत्यु प्रकरण : मोटरसाइकलले ठक्कर दिने फरार दुबै जना पक्राउ


स्काई न्यूज / मंसिर ४, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय नजिकै बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन मार्फत मोटरसाइकल चालक वीरेन्द्रनगर–५, चिसापानीका जीवन चौहान मगर र मोटरसाइकलको पछाडी बसेका नवीन भनिने अमर सलामी मगरलाई सार्वजनिक गरेको हो । मोटरसाइकल दुर्घटनामा परी ३ वर्षीय बालक मृत्यु भएको ४८ घण्टापछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ । मंसिर २ गते जिल्ला प्रहरी कार्यालय अगाडिको बाटोमा उनीहरु सवार मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१ का ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका समिरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृत्तकका आफन्तले बताएका छन् । मृत्तकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै बुधबार वीरेन्द्रनगरको जुम्ला रोडमा प्रर्दशन समेत गर्नु परेको थियो । यता सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेकालाई सीसीटीभी क्यामेराको सहयोगबाट पक्राउ गरि आवश्यक कार्वाहीका लागि प्रक्रिया अघि बढि सकेको जनाए ।

Translate »