२०८३ कात्तिक ६ , बिहीबार
Sky News Nepal
October 23, 2026

भोलिदेखि कक्षा १२ को जाँच : परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

४ लाख ३२ हजार विद्यार्थीले ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा दिँदै


मंसिर ८,काठमाडौँ ।
कोभिड महामारीका बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदै छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षाका बेला स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न नसके संक्रमण झनै समुदायमा फैलिन सक्ने भनेर विज्ञहरूले सचेत गराएका छन् । बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने बताए । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गर्ने उनले जनाए । परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ । ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । ‘केन्द्राध्यक्षहरूको अभिमुखीकरणमा हेल्थ डेस्क राख्न निर्देशन दिएका छौं,’ पौडेलले भने, ‘साबुनपानीले हात धोएर मात्र परीक्षा हलमा प्रवेश गर्न दिइनेछ ।’ कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ ।

दुईरदुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने बोर्ड अध्यक्ष पौडेलले बताए । ‘ठूला कोठा भए २० जनासम्म राख्न सकिएला, एउटा कोठामा कति जनाभन्दा पनि दुई÷दुई मिटरको दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने । परीक्षार्थी, निरीक्षकलगायत परीक्षामा संलग्न कर्मचारीले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने उनले दोहोर्‍याए । उनले थपे, ‘रुघाखोकी लागेका वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका परीक्षार्थीलाई छुट्टै कक्षाकोठामा राखेर परीक्षा दिन लगाउनुपर्छ, कोरोना पोजिटिभ भएका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था बोर्डले मिलाउँछ ।’ ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । खुला विश्वविद्यालयका प्राध्यापक तथा जनस्वास्थ्यविद् सुजनबाबु मरहठ्ठाले विद्यार्थी परीक्षा केन्द्रमा आउँदादेखि परीक्षा सकेर घरसम्म नपुग्दासम्म विशेष ध्यान दिनुपर्ने बताए । ‘परीक्षा हलभित्र दुईरदुई मिटरको दूरीले मात्र पुग्दैन, विद्यार्थी परीक्षा हलमा प्रवेश गर्ने र निस्कने बेला पनि दूरी कायम गरेर नियन्त्रण गर्न सक्नुपर्छ,’ उनले थपे, ‘प्रवेश पत्र लिन आउँदा नै भीडभाड नगरी आऊ, एकअर्काबीच दूरी कायम गरेर हिँडडुल गर भनेर सचेत गराउनुपर्छ ।’ सकेसम्म सानोसानो समूह छुट्टाछुट्टै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गर्नुपर्ने उनले सुझाव छ । ‘कोरोना संक्रमण भित्रभित्रै फैलिरहेकै छ, परीक्षा पनि लिनैपर्ने छ, सानोसानो कुरामा सावधानी अपनाए मात्र संक्रमणबाट जोगिन सकिन्छ,’ उनले भने । विद्यार्थी–विद्यार्थी, विद्यार्थी–शिक्षक र शिक्षक–शिक्षकबीच पनि कोरोना भाइरस सर्न सक्नेमा सजग रहनुपर्ने विज्ञहरू बताउँछन् । सही तरिकाले अनिवार्य मास्क लगाउन, एक जनाभन्दा बढी बस्न र हिँडडुल गर्न निरुत्साहित गर्न, हात धुने व्यवस्था मिलाउन र कक्षाकोठामा अति आवश्यकबाहेकका अन्य सामग्री लैजान पूर्णरूपमा प्रतिबन्ध लगाउन सके संक्रमण फैलिनबाट रोक्न सकिने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।

‘परीक्षा सुरु हुनुभन्दा चाँडो सेन्टर खेल्ने र एकअर्काबीचको दूरी कायम गर्न क्यु सिस्टम लगाउने गर्नुपर्छ,’ जनस्वास्थ्यविद् मरहठ्ठाले भने । विद्यार्थीलाई उत्तरपुस्तिका तथा प्रश्नपत्र दिँदा र लिँदा सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने उनले सुझाव दिए । घरमा पुगेपछि पनि साबुनपानीले हात धुन र होम क्वारेन्टाइनमा बस्न विद्यार्थीलाई उनले सल्लाह दिए । ‘कोरोनाको त्रासमा रहेका विद्यार्थीलाई हौसला दिएर परीक्षा सञ्चालन गर्नुपर्छ,’ उनले भने । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीको भीडभाड रोक्न परीक्षा हल आधा घण्टाअघि नै खुल्न सक्ने व्यवस्था गरिएको बताए । ‘पहिले १५ मिनेटअघि मात्र खुल्थ्यो, अहिले आधा घण्टाभन्दा पहिल्यै खोल्न सकिनेछ, परीक्षा हलअनुसार आलोपालो भित्र पस्ने र बाहिर निस्कने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरूलाई भनेका छौं,’ उनले भने । परीक्षार्थीले हलभित्र आपसमा सामग्री प्रयोग गर्नसमेत नपाउने उनले जनाए । ५ सयभन्दा बढी परीक्षार्थी रहेका केन्द्र १ सय १३ वटा छन् । २ सयदेखि ५ सयसम्म परीक्षार्थी हुने केन्द्रको संख्या ३ सय ९७ छ । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालना गर्न विशेष ध्यान दिनुपर्ने अर्यालले जनाए । १ सयदेखि २ सयसम्म विद्यार्थी रहेका परीक्षा केन्द्र ६ सय ९३ वटा छन् ।

१ सयसम्म परीक्षार्थी रहने परीक्षा केन्द्र १ हजार २१ छन् भने ५० जनासम्म परीक्षार्थी रहेका केन्द्र एक हजार ८ सय ८३ वटा छन् । शिक्षा, स्वास्थ्य, गृह र संघीय मामिला मन्त्रालयमार्फत स्वास्थ्य मापदण्ड पालना गराउन जिल्ला, स्थानीय तह र परीक्षा केन्द्रसम्म परिपत्र गरिएको बोर्डले जनाएको छ । सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको अर्यालले बताए । इन्टरनेटको पहुँच नपुगेका हिमाली क्षेत्रलगायत परीक्षा केन्द्रमा बोर्डले नै प्रश्नपत्र पठाएको छ । इन्टरनेट सुविधा भएका विद्यालयमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइन माध्यमबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा सकिएपछि उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गरेर बोर्डमा पठाउनुपर्नेछ । विद्यार्थीले आफूले अध्ययन गरेकै विद्यालय (होमसेन्टर) मा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । करिब १२ हजार विद्यार्थीले आफूले पढेको भन्दा अन्यत्रको घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । मंसिर १६ गते परीक्षा सकिनेछ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने छ ।

प्रकाशित मिति : २०७७ मंसिर ८ गते सोमबार
Translate »