एसइई परीक्षा जेठ १३ गतेदेखि सुरु हुने

फागुन २५,भक्तपुर ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले जनाएको छ । बोर्डको आजको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । यस वर्षको एसइई परीक्षा पनि बोर्डले नै लिनेछ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको बोर्डका अध्यक्ष पौडेलले बताए ।

मन्त्रीपरिषद्को निर्णयमा ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसइई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साबिक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ उल्लेख छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको छ । बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको छ । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड–१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

Translate »