भेरी अस्पतालमा तीन घण्टामा तीन जना संक्रमितको मृत्यु

वैशाख ५, बाँके । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिवार बेलुका ७:०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७:४० बजे उनको मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ । गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९:३० बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए । बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । (रासस)

Translate »