कोरोना संक्रमणबाट अछाम र बाँकेमा एक/एक जनाको मृत्यु


स्काई न्यूज/ बैशाख ९, सुर्खेत । 
अछाममा कोरोना भाईरस सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणदर रहेको भारतको गुजरातमा रोजगारीको सिलसिलामा रहेका उनी १५ दिन अघि अछाम फर्किएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको बिहीबार बिहान साढे ७ बजे जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए । यो सँगै अछाममा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । यसअघि कोरोनाबाट ५ जनाको ज्यान गएको थियो । कोरोना दोस्रो चरणमा फैलिएपछि पहिलो पटक ६५ वर्षीय पुरुषको ज्यान गएको हो । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया महिलाको विहीबार विहान सवा २ बजे मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Translate »