बेरुजु फर्छ्यौट अन्योलताप्रति कर्मचारी चिन्तित

भदौं १८, सुर्खेत ।  कर्णाली प्रदेशका धेरै सरकारी कार्यालयमा बेरुजु फर्छ्यौटमा अन्योलता देखिएको छ । प्रदेश सरकारले बेरुजु घटाउने दाबी गरिरहँदा प्रदेश मन्त्रालयहरु बेरुजु फर्छ्यौटको दायित्व कसले बहन गर्ने भन्ने विषयमा नै स्पष्ट हुन सकेका छैनन् । सरकारी बेरुजु सालैपिच्छे बढ्दै गइरहेको अवस्थामा यसले थप समस्या पार्ने देखिएको हो ।

यसैवीच प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा बेरुजु न्यूनिकरण गर्दै फर्छ्यौटमा कसरी लाग्ने भन्ने विषयमा लेखा समूहका कर्मचारीहरुसँग छलफल गरेको छ । छलफलमा प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले समन्वयतात्मक अभावले बेरुजु फर्छ्यौटमा समस्या देखिएपनि अब सबै पक्ष मिलेर बेरुजु घटाउने अभियानमा जुट्न आग्रह गरे । कार्यक्रममा प्रदेश लेखा समूहका अध्यक्ष वेदप्रसाद सुवेदीले बेरुजु न्यूनिकरणमा सबै पक्षको समन्वयात्मक पहल आवश्यक रहेको औल्याए ।

कार्यक्रममा बेरुजु न्यूनिकरण कसरी गर्ने, उठेका बरुजु फर्छ्यौट गर्ने, आर्थिक वर्ष २०७४/०७५ देखिको बेरुजु सफ्टवेयरमा असोज मसान्तसम्म प्रवृष्टी गर्ने, प्रदेश कार्यालयमा कार्यरत कर्मचारीको तलवी प्रतिवेदन पास गर्ने, जिन्सी समान अभिलेख राख्ने (सफ्टेवयर) पाम्समा पुरानो जिन्सी समानहरु प्रवृष्टिका साथै नयाँ खरिद भएका जिन्सी समानको दाखिला गरि खर्च लेख्ने लगायतका विषयमा गहन छलफल भएको नेपाल निजामति कर्मचारी यूनियन संघ कर्णाली प्रदेश सचिव कांशिराम भट्टराईले जानकारी दिए ।

उनले छलफलपछि प्रदेश लेखा समूहको तर्फबाट निजामति सेवा दिवसको अवसर पारेर कवर्ड हलमा प्रशिक्षणरत ब्याटमिन्टल खेलका ३५ किशोर किशोरीलाई खेल सामाग्री समेत हस्तान्तरण गरिएको बताए । उनका अनुसार उक्त खेल सामाग्री कर्णाली प्रदेश खेलकुद परिसद्का सदस्य तथा चर्चित ब्याटमिन्टन प्रशिक्षक टक्कबहादुर शाही मार्फत हस्तान्तरण गरिएको हो ।

 

 

Translate »