भेरी–बबईबाट दुर्लभ अजिङ्गरको उद्दार

स्काई न्यूज / भदौं २०, सुर्खेत । 
भेरी–बबई डाईभर्सन बहुउद्देश्य आयोजनाको बाँधस्थल चिप्लेबाट ९ फिट लामो अजिङ्गरको उद्दार गरिएको छ । आयोजनाको बाँधस्थल टनेलमाथि देखा परेको अजिङ्गरलाई कामदारले डिभिजन वन कार्यालय सुर्खेतलाई खबर गरेपछि वनको विशेष टोलीले शनिबार चिप्लेबाट २० किलोग्राम बजन रहेको अजिङ्गरको उद्दार गरेको हो ।

वन कार्यालयको विशेष टोलीले सामान्य घाइते अवस्थामा रहेको अजिङ्गरलाई उद्दार गरेर डिभिजन वन कार्यालय स्थित आश्रयस्थलमा राखेर औषधो उपचार गरिरहेको छ । भेरी–बबई आयोजना स्थलका कामदार र प्रहरीको सहयोगमा उद्दार गरेर ल्याईएको अजिंगरलाई सामान्य अवस्थापछि पुनः सुरक्षित वासस्थानमै छोडिने डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहलले जानकारी दिए ।

उनले केही दिन पहिले स्थानीय भैरब सामुदायिक वन आसपासबाट मृगको बच्चालाई समेत उद्दार गरेर आश्रयस्थलमा औषधो उपचार भईरहेको बताए । उनका अनुसार उक्त मृगको बच्चालाई समेत सामान्यरुपमा तन्दुरुस्त हुने वित्तिकै सुरक्षित वास्थानमा छोडिने योजना छ ।

Translate »