प्रदेशसभामा एमाले विभाजनको गणित : पाँच प्रदेशमा एमाले, दुइटामा नेकपा (एस) बलियो

सनाखतका लागि अझै दुई दिन बाँकी

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूले आफ्नो कित्ता छुट्याउने क्रम चलिरहेको छ । केन्द्रमा सकिएपछि अहिले प्रदेश र स्थानीय तहमा सनाखत चलिरहेको छ । प्रदेश निर्वाचन कार्यालयमा सनाखत गराउन दुई दिन बाँकी रहँदासम्म पनि विभिन्न प्रदेशसभाका एमाले सदस्यहरू विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गराइरहेका छन् ।

प्रदेशसभा र स्थानीय तहमा एमाले र नेकपा (एस)बीच आ–आफ्नो पक्षमा जनप्रतिनिधिहरू तानातान गरिरहेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार सात प्रदेशमध्ये पाँच प्रदेशसभामा एमाले बलियो देखिएको छ । दुई प्रदेशसभामा नेकपा (एस) बलियो छ । गण्डकीमा नेकपा (एस) का कुनै सांसद छैनन् भने लुम्बिनीमा हालसम्म एक जना मात्र नेकपा (एस)को पक्षमा देखिएका छन् ।

कुन प्रदेशमा कस्तो अवस्था ?

सुदूरपश्चिम : नेकपा (एस) एमालेभन्दा ठूलो

आइतबार सुदूरपश्चिम प्रदेशसभाका तीन जना एमाले सांसदले नेकपा (एस) रोजेर निर्वाचन आयोगमा सनाखत गराएका छन् । उनीहरूले सनाखत गराएसँगै सुदूरपश्चिमको प्रदेश सभामा नेकपा (एस)का १३ जना सांसद भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सांसदहरू प्रकाश रावल र तारा लामा तामाङले एमाले छाडेर (एस) रोजेका हुन् । यसअघि मन्त्रीसमेत रहेका १० सांसदले नेकपा (एस) रोजेका थिए ।

जसमा मन्त्री पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसदहरू माया भट्ट, सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारी रहेका थिए ।

नेकपा (एस) रोज्ने सांसदहरूको संख्या प्रदेश सभामा १३ पुगेसँगै एमाले प्रदेशसभामा ११ को अंकमा झरेको छ । सुदूरपश्चिम प्रदेशका सभामुख एमालेका भए पनि उनी तटस्थ रहनुपर्ने हुन्छ ।

कर्णाली : ३ जनाले मात्र एमाले छोडे

कर्णाली प्रदेशसभाका ३ जनाले एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । प्रदेशसभा सदस्यहरू चन्द्रबहादुर शाही, देवी वली र पद्म रोकायाले नेकपा (एस) रोजेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा ह्वीप उल्लंघन गरेर सांसद पदबाट मुक्त भइसकेका छन् । उनीहरू पनि नेकपा (एस)तिर लागेका छन् । चार सांसद पदमुक्त भएपछि १६ सांसदमा पुगेको एमाले तीन सांसदले नेकपा (एस) रोजेसँगै १३ सदस्यमा झरेको छ ।

लुम्बिनी : नेकपा (एस) मा एक सांसद

नेकपा (एमाले) विभाजनको प्रभाव लुम्बिनी प्रदेशसभामा भने न्यून मात्रै पर्‍यो । लुम्बिनी प्रदेशसभामा एमाले विभाजित भएर गठन भएको नेकपा (एस)मा सनाखत गराउनेको सांसद १ जनामात्रै रहेका छन् । एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले मात्रै नेकपा (एस)को पक्षमा सनाखत गरेकी छन् ।

घर्तीले नेकपा (एस)को पक्षमा सनाखत गरेसँगै एमालेको प्रदेशसभा संख्या ३६ हुन पुगेको छ । यसमा सूर्य चुनाव चिह्न लिएर स्वतन्त्र राजनीतिक समूहका निर्वाचित एक सांसद पनि रहेका छन् ।


गण्डकी : नेकपा (एस) शून्य

गण्डकी प्रदेशसभामा भने नेकपा (एस)को पक्षमा एमालेका कुनै पनि सांसद उभिएनन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन् । यसअघि माधव नेपालको पक्षमा उभिएका गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा एमालेमै रहेका छन् ।

माधव नेपालको पक्षमा रहेका एउटा प्रदेशसभा सदस्यले पनि एमाले नै रोजेपछि नेकपा (एस) ले गण्डकी प्रदेशसभामा उपस्थिति जनाउन सकेन ।

वाग्मती : एमाले बलियो

वाग्मती प्रदेशसभामा एमाले विभाजित भएर बनेको नेकपा (एस) को पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यको संख्या आइतबारसम्म १३ पुगेको छ ।

गत शुक्रबार एमाले प्रदेशसभा सदस्य मीना ज्ञवालीले नेकपा (एस)को पक्षमा सनाखत गरेकी थिइन् । यसअघि एमाले छाडेर १२ जना प्रदेशसभा सदस्य नेकपा (एस) तिर लागेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसँगै सामाजिक विकासमन्त्रीको शपथ लिएका कृष्ण शर्मा खनालले पनि एमाले छोडेका छन् ।

नेकपा (एस)मा सांसदहरू राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की रहेका छन् ।

योसँगै वाग्मती प्रदेशसभामा एमालेको संख्या ४२ मा झरेको छ । यसअघि प्रदेशसभामा एमालेको एकल बहुमत थियो ।

प्रदेश २ : नेकपा (एस) एमालेभन्दा ठूलो

प्रदेश २ मा एमालेभन्दा नेकपा (एस) ठूलो भएको छ । यो प्रदेशसभामा नवगठित नेकपा (एस)का १३ सांसद पुगेका छन् भने एमाले ८ सांसदमा सीमित भएको छ । एमाले प्रदेश २ को २१ सदस्यीय संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, सांसदहरू सीता गुरुङगोविन्द न्यौपाने, मदनसिंह श्रीवास्तव, अशोक यादव, प्रमोदकुमार यादव, मञ्जुकुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, सीता गुरुङ, सुन्दर विश्वकर्मा, शत्रुधन महतो र डिल्ली उप्रेती नेकपा (एस)तिर लागेका हुन् ।

प्रदेश १ : नेकपा (एस) १० मा सीमित

प्रदेश १ को प्रदेशसभामा एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एस)मा १० सांसद लागेका छन् । उनीहरूले गत बुधबार नै प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर सनाखत गराएका हुन् । सभामुखबाहेक ५१ प्रदेशसभा सदस्य रहेको जितेको एमालेमा ४१ सांसद रहेका छन् ।

प्रदेश १ बाट नेकपा (एस)मा लाग्ने सांसदहरूमा राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, सावित्राकुमारी रेग्मी र उपेन्द्र घिमिरे रहेका छन् । (कान्तिपुर)

Translate »