मर्निङवाकमा निस्केकी किशोरी बलात्कृत

भदौं २४, सुर्खेत । मर्निङवाकमा निस्केकी एक किशोरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बलात्कृत भएकी छन् । बुधबार विहान पाँच बजेतिर छिमेकी साथीसँगै मर्निङवाकमा निस्केकी १६ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
प्रहरीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फको कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अघाडिबाट एक युवकले ढुंगा प्रहार गरेका थिए । युवकको आक्रमणबाट बच्न दुई किशोरीमध्ये एउटा सडक हुँदै भागेर घर पुगिन् भने बलात्कृत भएकी किशोरी पूर्वतर्फको धान खेततर्फ भागिन् ।

खेतको हिलोका कारण किशोरी भाग्न सकिनन् । किशोरीमाथि खेतमै बलात्कार भयो । प्रहरीका अनुसार भागेर घर पुगेकी साथीले घर परिवारलाई खबर गरेकी थिइन् । ‘अभिभावकहरु त्यहाँ पुग्दा अभियुक्त भागिसकेको रहेछ,’ ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘अभिभावकले खबर गरेपछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो ।’ घटनास्थल सडकदेखि नजिकै पर्छ ।
किशोरीको शरिरका विभिन्न भागमा चोट लागेको छ । बलात्कारको प्रतिकार गर्दा किशोरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । ‘धान खेतको हिलोका कारण किशोरी भाग्न पाइनन्, आफूमाथि बलात्कार हुँदा किशोरीले धेरै प्रतिकार गरेको देखिन्छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘हाम्रो मुख्य ध्यान बलात्कारमा संलग्नलाई पक्राउ गर्नेतर्फ केन्द्रीत छ ।’
प्रहरीसँग किशोरीले बलात्कार गर्ने युवकलाई यसअघि एकपटक देखेको बताएकी छन् । ‘अभियुक्तको पहिचान खुलिसकेकाले संभावित स्थानमा खोजी अघि बढाएका छौं,’ उनले भने, ‘अभियुक्त पक्राउ परेपछि धेरै कुरा खुल्छ ।’ नागरिक दैनिक