सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध

हुम्ला । कर्णाली कोरिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताए ।

खोला सडक भएर बगेको छ । सडकका धेरै ठाउँमा चिरा परेको छ । खोलाको पानीले करिब ३०० मिटर सडक बगाएको उनले जानकारी दिए । बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई थप समस्या बनाएको छ । चिरा परेका सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको स्थानीयवासी चीन रावतले बताए । सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको गुनासो उनको छ । क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयवासीले बताउने गरेका छन् । रासस

Translate »