संसद खुलाउने विषयमा छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ– प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको कामकारबाही अघि बढ्न नसकिरहेका बेला सभामुख सापकोटाले सोमबार दिउँसो साढे दुई बजेका लागि दलहरुको बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरुले निरन्तर विरोध गर्दै आएका छन् ।

यसैबीच आज बसेको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । एमालेको अवरोधपछि सभामुख सापकोटाले बैठक मंगलबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरेका हुन्  ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि फेरि बैठक सुरु भएपनि एमालेको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

Translate »