बालिका बलात्कृत भएपछि बालगृह बन्द

पुस ४,रुकुम पश्चिम । ५ वर्षदेखि सञ्चालन हुँदै आएको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ । २०७४ मा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो । झण्डै एक महिनाअघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्तानान्तरण गरेको थियो । उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ ।

बालगृह सञ्चालक सुनिता चनाराका छोरा २२ वर्षीय कुश्माकर चनाराले १३ वर्षीया बालिकामाथि बलात्कार गरेर गर्भसमेत रहेको सार्वजनिक भएपछि उक्त बालगृहमाथि हस्तक्षप गरी बालबालिकालाई अन्यत्रै सारिएको थियो । नगरपालिकाको न्यायिक समितिमा गएर बालिकाले आफूमाथि बलात्कार भएको बताएकी थिइन् । स्वास्थ्य परीक्षणमा उनको पेटमा गर्भ रहेको पुष्टि भएको थियो । त्यसलगत्तै नगरपालिकाले प्रहरी र प्रशासनलाई चिठी लेखेर कारबाही गर्न पत्राचार गरेको थियो ।

सोही पत्रको आधारमा प्रहरी छानविन थालेको थियो । तर घटनालगत्तै फरार रहेका आरोपी चनारालाई अझै पक्राउ भने गरिएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले चनाराको खोजी भइरहेको बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ ।

बाल गृहमा १४ बालबालिका थिए । जसमध्ये पीडित बालिका र उनका भाइले पहिल्यै बाल गृह छाडिसकेका थिए । बाँकीलाई पनि पठनपाठनको व्यवस्थासहित काठमाडौं पठाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए ।

‘बालगृहका बालबालिकालाई केही समय एउटा सिकाइ केन्द्रमा राखेका थियौं,’ उनले भने, ‘नगरमा तत्काल थप व्यवस्थापन गर्न सक्ने अवस्था नभएपछि सबै बालबालिकालाई सजिलो हुने गरी पठनपाठनको व्यवस्था मिलाइएको छ ।’ घटनाबारे गम्भीर अनुसन्धान गरी दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन् । ‘एउटी बालिकामाथि निरन्तर बलात्कार भइरहेको सार्वजनिक भएपछि त्यस्तो बाल गृहलाई किन सञ्चालन गर्न दिने ? ,’ उनले भने, ‘हाम्रो दवावपछि बालगृह बन्द भयो, अब प्रहरीले कानुनी कारवाही जतिसक्दो छिटो अघि बढाउनुपर्छ ।’  (इ–कान्तिपुर)

Translate »