दादुराबाट नेपालगन्जमा अढाई वर्षीय शिशुको मृत्यु
बाँके। नेपालगन्जमा दादुराबाट एक जना शिशुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का अढाई वर्षीय शिशुको मृत्यु भएको हो ।
२ वर्ष ७ महिनाका ती शिशुलाई एक हप्ता अघि उच्च ज्वरोसँगै दादुरासँग मिल्दोजुल्दो अरू लक्षण समेत देखिएको थियो । आज उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै शिशुको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । नेपालगन्जको वडा नं.५, ७ र ८ मा दादुराको महामारी फैलिएको छ । आज मात्रै यी वडामा ८ जनामा दादुरा देखिएको छ ।
दुई दिन अघि एकै परिवारका ४ जना बालबालिकामा दादुरा देखिएको थियो । आज मृत्यु भएका शिशुले दादुरा विरुद्धको खोप लगाएको वा नलगाएको बारेमा जानकारी लिने काम भइरहेको चन्दले जनाए ।
समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि चन्दले जानकारी दिए ।