विश्वकप क्रिकेट क्वालिफायरमा छानिएपछि नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

चैत ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु,’ खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘विश्वकप छनोटका लागि तपाईंहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुख, दुःखमा साथमै हुनेछ ।’

प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप०लाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

बिहीवार संयुक्त अरब इमिरेट्स ९यूएई०लाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको थियो । रासस

Translate »