सिमीबाटै समृद्धि खोज्दै मुगुका किसान


मुगु । सिमीबाट राम्रो आम्दानी हुन थालेसँगै मुगुका कृषकहरू केही वर्ष यता सिमी खेतीतर्फ आकर्षित हुँदै गइरहेका छन् ।
परम्परागत खेती, पाखे धान, चिनो काउनीबाट खासै मूल्य नपाए पछि मुगुका कृषकहरू सिमी खेतीतर्फ आकर्षित भएका हुन् ।
पहिलेदेखि घरको लागि दाल खान भनेर थोरै मात्रामा सिमी खेती गर्दै आएका कृषकहरू अहिले भने स्थानीय बजारका साथै जिल्ला बाहिर राम्रो मूल्य पाउन थालेपछि बृहतरुपमा सिमी खेती गर्दै आइरहेका छन् ।

मुगु जिल्लाका लेकाली भेगहरू, उच्च चिसो हावा पानी भएको स्थानहरूमा सिमी खेती गर्ने गरिन्छ । मुगु जिल्लाका चार ओटै भेगहरू करान, गम,सोरु र खतेडमा सिमी खेती गरिन्छ । कार्तिक महिनामा उत्पादन हुने सिमी खरिदका लागि व्यापारीहरू घरघरमा पुग्ने गरेकाले बजारको कुनै समस्या नभएको स्थानीय कृषकहरूले बताए ।
विगतका वर्षहरू झैँ यसपाली पनि सिमी बेचेर राम्रै आम्दानी हुने आशा रहेको सोरु गाउँपालिका वडा नं ८ आँसिधाराका कृषक नन्दलाल रोकायाले बताए । वार्षिक पचासदेखि साठी हजारसम्म सिमीबाटै कमाउने गरेको उनले बताए । छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिल्ला गाउँका कृषक रामलाल ऐडीले सिमी खेतीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँ कमाउने गरेको बताए । छ जनाको परिवार सङ्ख्या भएको ऐडीले गरेको व्यावसायिक सिमी खेतीले आफूले वार्षिक आठ देखि दश क्विन्टल सिमी उत्पादन गर्ने गरेको बताए।
‘गामगढी बजार नजिकै भएकाले ग्राहकको कुनै समस्या छैन, सिमीले राम्रै आम्दानी दिएको छ’, उनले भने । सिमी बेचेकै पैसाले बर्ष भरि घर खर्च चल्ने गरेको उनले बताए । ‘बाल बच्चालाई स्कुल पठाउनेदेखि बाँकी बचेको पैसा बैंकमा बचत गर्नसमेत सफल भएको छु, घर खर्च सिमीकै भरमा चलिरहेको छ’, एडीले भने । ‘सिमी खेती गर्न मेहनत धेरै गर्नु पर्ने भएपनि बजारको कुनै समस्या नभएकोले हामीलाई धेरै सहज भएको छ ।’, उनले भने ।
छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्मा गाउँका अर्का कृषक सिंह रोकायाले व्यावसायिकरुपमा सिमी खेती गरेको धेरै समय भयो यसबाट वार्षिक दुई लाख कमाउने गरेको बताए । उनले भने वर्ष भरी घर खर्च र तीन जना बालबच्चाको पढाई लेखाई गरी बचेको पैसा बचत गर्ने गरेका छौँ उनले भने । कुल ८० घरधुरी रहेको मुर्मा गाउँमा सबै घरधुरी सिमी खेती गर्ने गरेका छन् । वर्ष भरि घरमा दालको रुपमा प्रयोग गरेर बच्ने जति सिमी बेचेर लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । मुर्मा गाउँ नेपालकै ठुलो राराताल नजिकै पर्ने भएकाले रारा घुम्न आउने पर्यटकहरूले नासोको रुपमा घरघर गएर सिमी खरिद गर्ने गरेको पनि मुर्मा गाउँका शिक्षक नन्दसिंह रोकायाले बताए । (रेडियो नेपाल)

