कर्णालीका नौ जिल्लामा सुपथमूल्य पसल


सुर्खेत । कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले प्रदेशका नौ जिल्लामा आईतवार दिउँसो १ बजे एक साथ औपचारिक कार्यक्रमको आयोजना गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रका अनुसार यसपटक चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विभिन्न प्रकारका चामलसँगै तोरीको तेल समेत उपलब्ध रहनेछ ।
तर, त्यसका लागि भने केही समय कुर्नु पर्नेछ । आईतबार उद्घाटन समारोहमा स्टिम जिरा मसिनो चामल मात्र उपलब्ध रहेको उनको भनाइ छ । उनले तोरीको तेल र अन्य चामल खरिद भएर ढुवानीको क्रममा रहेको जानकारी दिए । उनका अनुसार कर्णालीको सल्यान वाहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा, कालिकोट, हुम्ला, जुम्ला र मुगु जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याईने छ । स्टिम जिरा चामलमा प्रति किलो ७ रुपैयाँ छुट दिईएको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले सुर्खेत कार्यालयले भने शनिबारसम्म सुपथ मूल्य पसल सञ्चालनका लागि हालसम्म कुनै पत्र नआएको कार्यालयका सूचना अधिकारी नवराज अकौलियाले जानकारी दिए । उनले सम्भवतः आईतबारसम्म परिपत्र आउने वित्तिकै तत्कालका लागि नून विक्री शुरु गरिने बताए । उनका अनुसार यस वर्ष नूनसँगै चिनी समेत दिने योजना कर्पोरेसनको रहेको छ । तर, सुर्खेत शाखामा हालसम्म चिनी आएको छैन् ।
यता राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चाडपर्व लक्षित चामल मात्र होइन, दाल, गेडागुडी, पिठो, तेल जस्ता अति आवश्यकीय वस्तुको विविधिकरणले आफ्नो दायरा फराकिलो बनाउन आग्रह गरेको छ । मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले विभिन्न सूचकमा सबैभन्दा कमजोर रहेको कर्णालीका नागरिक खाद्यान्न अभावको चपेटोबाट अझैपनि माथि उठ्न नसकिरहेको परिप्रेक्षमा कम्तिमा चाडपर्वका बेला सहुलित मूल्य पसलमा वस्तुको विविधिकरण गर्न सुझाव दिए ।
उनले जिल्ला सदरमुकाममा मात्र सुपथ मूल्य पसल केन्द्रित गरेर सुकिला–मुकिलालाई मात्र होइन, घुम्ती पसल मार्फत आम नागरिककालाई पु¥याउन माग गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुर्खेतका नौ वटै पालिका केन्द्रसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न उनले अनुरोध गरेका छन् ।

