कर्णालीको सल्यान बाहेक नौ जिल्लामा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा

सुर्खेत । कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले आज एक औपचारिक कार्यक्रम आयोजना गरी सुर्खेतसहित प्रदेशका नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्य पसलको आज सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख गंगाराम विकले शहरमा मात्र केन्द्रित नगरी घुम्ती पसल मार्फत सबै पालिका केन्द्रसम्म सुपथ मूल्य पसल सञ्चालन गरेर आम उपभोक्तालाई राज्यको उपस्थिति भएको महसुस गराउन सुझाव दिए ।

कार्यक्रममा सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर थापाले चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज तथा सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सम्बन्धित पक्षलाई निर्देशन दिए ।

त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमा सुपथ मूल्य पसल चाडपर्वमा मात्र होइन, वर्षभरी नै सञ्चालन गर्न आग्रह गरे ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले कर्णालीको सल्यान वाहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा, कालिकोट, जुम्ला, मुगु र हुम्ला जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको बताए । उनले कर्णालीका सुपथ मूल्य पसलमा हाललाई चामल मात्र उपलब्ध गराएपनि छिट्टै वस्तुको विविधिकरण गर्न कम्पनीको केन्द्रिय कार्यालयसँग समन्वय भईरहेको जानकारी दिए ।

साल्ट ट्रेडिङ कर्पोरेसन सुर्खेत कार्यालयका सूचना अधिकारी नवराज अकौलियाले सुपथ मूल्य पसलबाट नूनसँगै चिनी दिने योजना रहेपनि चिनी आउन ढिलाई भईरहेको बताए ।

उता राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई चामल र नून मात्र वितरण गरेर सुपथ मूल्य पसललाई औपचारिकतामा मात्र सीमित नराख्न आग्रह गरे ।

उनले सुपथ मूल्य पसलमा वस्तुको विविधिकरण गरेर दाल, गेडागुडी, पिठो, तेल जस्ता अति आवश्यकीय वस्तु चाडपर्वमा उपभोक्तालाई सहज, सुलभ तरिकाले विक्री वितरण गर्न सुझाव दिए । सहुलियत पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।

Translate »