सुपथ मूल्य पसल !


सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सल्यान बाहेक कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएका सुपथ मूल्य पसलमा पहिलो दिन देखि नै उपभोक्ताको भीड लाग्न थालेको छ । चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढी हुने भएकाले उपभोक्ता नठगिऊन् भनेर सरकारले विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसनले सरकारी अनुदान लिएर उपभोक्तालाई सुपथ मूल्यमा सामान बिक्री गर्ने भएकाले उपभोक्ताको आकर्षण रहने गरेको छ । दशैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सरकारी पहलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिन्छ । यो वर्ष पनि आसन्न दशैंतिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर कर्णाली प्रदेश राजधानी सुर्खेतलगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । त्यस्ता पसलमा उपभोक्ताको भीडसमेत लाग्न थालेको छ । चाडपर्वका बेला उपभोग्य वस्तुको माग असाध्यै उच्च हुन्छ नै । यो स्वाभाविकसमेत हो । चाडपर्वमा उपभोग नै बढी हुने हुँदा समयमै किनेर जोहो गर्ने चलनै छ । त्यस्तो बेला आमउपभोक्ता ठगीमा पर्नु हुन्न भन्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनु स्वागतयोग्य कुरा हो । सुपथ मूल्य पसलमा दिइने छुटका निम्ति सरकारले अनुदान दिएको हुन्छ । असोज २१ गतेदेखि नै कर्णालीसहित देशका विभिन्न भागमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् ।

यस्ता पसलमा सर्वसाधारण उपभोक्ताको आकर्षणसमेत बढ्छ । यसमा नठगिने विश्वास भएरै हो । बजार मूल्यभन्दा सरल र सस्तो होला भनेरै उपभोक्ता यस्ता पसलमा झुम्मिने गरेका हुन् । नेपाली समाजलाई यो चाडले एकता, सद्भाव र समन्वयका निम्ति ठूलो ऊर्जा दिन्छ । तर चाडपर्व असाध्यै महँगा हुँदै गएका छन् । सीमित आय भएका परिवारलाई दशैं चर्को पर्दै गएको छ । परिवारलाई कपडा किन्नै प¥यो । खानपानको व्यवस्था गर्नै प¥यो अनि नरनाता, कुल कुटुम्ब बढ्दै गएको महँगीमा सीमित आयले धान्दैन । त्यसैले खुसीको दशैं ऋण बोकाई बिदा हुने नेपाली चलनचल्तीको भनाइ ठिकै हो । यस्तो अवस्थामा उपभोक्तालाई केही राहत दिन राज्यले समेत भूमिका निर्वाह गरिरहेको हुन्छ । सर्वसाधारणलाई अति आवश्यक पर्ने दैनिक उपभोग्य सरसामानमा केही कम मोलमा उपलब्ध गराउने यत्न कर्णालीमा विगत ७ वर्षदेखि हुँदै आएको छ । कर्णालीमा खोलिएका सुपथ मूल्य पसल सदरमुकाम मात्र केन्द्रित छन् । त्यसमा पनि नून र चामलमा मात्र सीमित गरिएको छ । वस्तुको विविधिकरण गर्न सकिएको छैन् । सुपथ मूल्य पसलका नाममा औपचारिकता मात्र पुरा गर्ने काम भएको छ । शहरमा मात्र केन्द्रित नगरी घुम्ती पसल मार्फत सबै पालिका केन्द्रसम्म सुपथ मूल्य पसल सञ्चालन गरेर आम उपभोक्तालाई राज्यको उपस्थिति भएको महसुस गराउन जरुरी छ ।
चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज तथा सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनु पर्छ । उसो त कर्णालीमा सुपथ मूल्य पसल चाडपर्वमा मात्र होइन, वर्षभरी नै सञ्चालन गर्न आवश्यक देखिन्छ । कर्णालीको सल्यान वाहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा, कालिकोट, जुम्ला, मुगु र हुम्ला जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको छ । सुपथ मूल्य पसलमा वस्तुको विविधिकरण गरेर दाल, गेडागुडी, पिठो, तेल जस्ता अति आवश्यकीय वस्तु समेत चाडपर्वमा उपभोक्तालाई सहज, सुलभ तरिकाले उपलब्ध गराउनु पर्छ । सुपथ मूल्यका पसलमा उपभोक्तालाई राहत हुने गरी सरसामानको अझै राम्रो व्यवस्था गर्नु वाञ्छनीय छ । सरकारी कर्मचारीलगायतलाई दशैं मनाउन एक महिनाको तलब सरकारले भत्ता दिन्छ । यो वर्षौंदेखि चल्दै आएको छ तर सर्वसाधारणका निम्ति दशैं टार्नु सहज हुँदैन । यस्तो बेला उपभोक्तालाई राहत दिने प्रयास सबै क्षेत्रको हुनुपर्छ । निजी क्षेत्रले समेत मुनाफालाई मात्र लक्ष्य नबनाई सार्वजनिक हितका निम्तिसमेत छुटको व्यवस्था गर्नु राम्रो अभ्यास हुन्छ । सबैको हित नै समाजको समग्र हित हो भन्ने मान्यतालाई कसैले पनि भुल्नु हुन्न ।

