सरकारद्वारा भोलि राष्ट्रिय शोकको घोषणा

मृतकका परिवारलाई १०/१० लाख रुपैँया दिने

काठमाडौं । सरकारले प्लेस्टाईन हमास समूहको आक्रमणमा परि इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न भोलि असोज २३ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा भएको अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मानका लागि भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।

बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ ।

यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दुस्ख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मृतकको शव तथा त्यहाँ फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको बताए ।

नेपालीको उद्दार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको बताए ।

Translate »