नेपालगञ्जमा कर्फ्‍यु र निषेधाज्ञा हट्यो

नेपालगञ्ज । नेपालगञ्जको अवस्था सामान्य बनेपछि कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ । विगत एक सातादेखि लगाइँदै आइएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आज एक सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।

अघिल्लो मङ्गलवार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि भने केही दिन यता दिउँसोको समयमा निषेधाज्ञा र राती कर्फ्यु लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलवार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने राती कर्फ्यु कायमै राखिएको छ । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि भने दिन प्रति दिन छोट्याउँदै लगिएको थियो । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले असोज १६ गते दिउँसोदेखि केही दिन अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बनेको छ । दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यु आदेश जारी गरिएको थियो ।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुने स्थिति देखिएको भन्दै कर्फ्यु आदेश जारी गरिएको थियो ।

Translate »